धनुषाका नाकाबाट हुने तस्करी र प्रहरी चौकीको भूमिकाबारे छानबिनको माग

7.1k Shares

जनकपुरधाम । धनुषा जिल्लाको दुबी र महिनाथपुर नाकाबाट लामो समयदेखि तस्करी भइरहेको भन्ने विषयमा स्थानीय स्तरमा व्यापक चर्चा र गुनासो सुनिँदै आएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका अनुसार केही व्यक्तिहरूलाई तस्करीका लागि “लाइन” मिल्ने गरेको, र भन्सार छलेर भित्र्याइने सामानहरू नियमित रूपमा ओहोरदोहोर हुने गरेको देखिन्छ। यस क्रममा अजय र दिलिप नाम भएका व्यक्तिहरूको नाम बारम्बार उठ्ने गरेको स्थानीयहरू बताउँछन्। यस्ता गुनासोहरू सत्य हुन् कि होइनन् भन्ने कुरा छानबिनबाट मात्र स्पष्ट हुन सक्छ, तर निरन्तर आइरहेका सूचनाहरूले सम्बन्धित निकायको गम्भीर ध्यान मागिरहेका छन्।

अझ चिन्ताको विषय के छ भने, तस्करी गरेर ल्याइएका सामानहरू नेपाल प्रहरीको प्रहरी चौकी गिधा तिनकोरियाले नियन्त्रणमा नलिई रकम लिएर छाडिदिने गरेको आरोपसमेत स्थानीयवासीले लगाउँदै आएका छन्। भन्सार छलेर भित्र्याइएको सामानबारे सूचना बारम्बार पुगेको भए पनि पक्राउ नगरी छाडिने गरेको, र चौकीका सई शैलेन्द्र ठाकुरले यस विषयमा कठोर कदम नचालेको भन्ने गुनासो सुनिन्छ। केही स्थानीयका अनुसार सई ठाकुर स्वयं दिनभर तस्करीसँग सम्बन्धित कारोबारी र सामान ओसारपसार गर्ने टेम्पो चालकहरूसँग भेटघाटमा देखिने गरेको आरोपसमेत छ। यी आरोपहरू गम्भीर छन् र यिनको सत्य–असत्य निक्र्योल निष्पक्ष छानबिनबाट मात्र सम्भव छ।

अझ अचम्मको कुरा, यस्ता जानकारी जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयसम्म पुगेको भन्ने भनाइ हुँदाहुँदै पनि अहिलेसम्म न त प्रभावकारी कारबाही भएको छ, न त सार्वजनिक रूपमा छानबिनको प्रक्रिया अघि बढेको देखिन्छ। यदि यी आरोपहरू निराधार हुन् भने पनि, त्यसको स्पष्ट खण्डन र तथ्य सार्वजनिक हुनु जरुरी छ। र यदि कतै कमजोरी वा अनियमितता भएको हो भने, दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइनुपर्छ।

सीमावर्ती नाकाबाट हुने तस्करीले राज्यको राजस्वमा प्रत्यक्ष क्षति पु¥याउनुका साथै समाजमा अपराध र भ्रष्टाचारलाई मलजल गर्छ। प्रहरी जस्तो कानून कार्यान्वयन गर्ने निकायप्रति जनविश्वास कमजोर हुनु लोकतन्त्रका लागि घातक हुन्छ। त्यसैले सम्बन्धित निकायहरूले यस विषयलाई सामान्य गुनासोका रूपमा होइन, गम्भीर सार्वजनिक सरोकारको मुद्दाका रूपमा लिएर तत्काल निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ भन्ने आम नागरिकको अपेक्षा छ।माध्यममार्फत यो आवाज सम्बन्धित निकायसम्म पुगोस् र कानूनको शासन कायम गर्न आवश्यक कदम चालियोस् भन्ने आशा गर्दै यो पाठक पत्र लेखिएको हो।

गौरीशंकर ठाकुर , सरोज साह समेतमा साथी जनकपुरधाम

सम्बन्धित समाचार