पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

5.6k Shares

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि लक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

चित्रकारलाई उनकै निवासमा पुगेर भण्डारीले भेटेकी हुन् । केही दिनअघिमात्रै चित्रकार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा तीन महिना लामो उपचारपछि स्वदेश फर्किएकी थिइन् । 

जेन–जी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ ।

भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो ।

विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि संक्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।

एपोलो अस्पतालमा भर्ना भएपछि उनको लामो समय आईसियुमा राखेर उपचार गरिएको थियो । संक्रमण नियन्त्रणमा ल्याउन चिकित्सकहरूले कडा प्रयास गर्नुपरेको र अन्ततः संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो ।

 त्यसपछि क्रमशः अवस्था सुधार हुँदै गएपछि उनलाई आईसियुबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् ।

सम्बन्धित समाचार