घाटाको व्यापार, आखिर कहिलेसम्म ?

8.2k Shares

हुङकार संवाददाता

काठमाडौं । बैदेशिक व्यापारमा नेपालले चालू आर्थिक वर्षको पहिलो साउन महिनामा मात्र एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ घाटा बेहोरेको छ । यो घाटा गत आर्थिक वर्षको पहिलो साउन महिनाको तुलनामा दुई दशमलव ५५ प्रतिशतले बढी हो । गत वर्ष साउनमा व्यापार घाटा एक खर्व १६ अर्व १५ करोड रुपैया रहेको भन्सार विभागले जनाएको छ । सरकारले आयात
व्यापारमा निरुत्साहन नीतिलाई प्राथमिकता साथ कार्यान्वयनमा लैजान नसक्दा व्यापार घाटा बढेको हो ।

सरकारले गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि वर्तमान सरकारले आयात निरुत्साहन गरेको थियो । जसले गर्दा एक दर्जन बढी सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो जसको प्रभाव आयात व्यापारमा परेको थियो । हाल उक्त व्यवस्था हटाए सँगै व्यापार घाटा बढेको हो । विभागका अनुसार असारमा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको आयात भएको छ । यो आयात गत आर्थिक वर्षको तुलनामा ११ दशमलव ४२ प्रतिशतले बढी हो । गतबर्षको साउन महिनामा एक खर्व २८ अर्ब ३७ करोड रुपैयाँको आयात भएको थियो । साउनमा आयातसँगै निर्यातमा पनि वृद्धि भएको छ ।

साउनसम्ममा दुई करोड ३९ लाख रुपैयाँको निर्यात भएको छ । यो निर्यात गतवर्षको साउनको भन्दा ९५ दशमलव ७५ प्रतिशतले बढी हो । गत आवको साउनमा एक करोड २२ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा १४ दशमलव ३३ प्रतिशत र आयातको हिस्सा ८५ दशमलव ६७ प्रतिशत छ । आयात र निर्यात दुवैमा वृद्धि हुँदा समग्र वैदेशिक व्यापार बढेको छ । विभागका अनुसार निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा निर्यात व्यापार खुम्चिन पुगेकाने व्यापारघाटाने निरन्तरता पाउदै आएको छ । नेपालको सबैभन्दा बढी व्यापारघाटा सीमा जोडिएका दुई मुलुक चीन र भारतसँग छ । विभागका अनुसार नेपालले एक सय ४१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । जसमा एक सय १० भन्दा बढी मुलुकसंग व्यापारघाटा व्यहोर्दै आएको छ ।

साउनमा कुल वैदेशिक व्यापार एक खर्ब ६६ अर्ब ९७ करोड रुपैया रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १८ दशमलव ७५ प्रतिशतले बढी हो । गत आवको साउनमा कुल वैदेशिक व्यापार एक खर्ब ४० अर्ब ६० करोड रुपैयाँ रहेको थियो । कुल आयातमध्ये साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ। विभागका अनुसार पाँच अर्ब ७७ करोड १४ लाख रुपैयाँ बराबरको पेट्रोल, पाँच अर्ब ८८ करोड ७७ लाख रुपैयाँको डिजेल र चार अर्ब ६६ करोड ६४ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ। सोही अवधिमा १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाईकल, तीन अर्ब सात करोडको फलामजन्य वस्तु र एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ। साथै मोटरसाइकल, विद्युतीय गाडी, नट्स, भटमास लुब्रिकेन्ट, हवाई इन्धन र ल्याप्टप र नोट बूकहरुको आयात उच्च रहेको छ ।

विभागका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैचा, कार्पेट, जिंक सिटलगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, औषधि (आयुर्वेदिक), दन्त मन्जन तारलगायतका वस्तुको निर्यात भएको छ । कुल निर्यातमध्ये सबैभन्दा बढी १० अर्ब ६९ करोड ५८ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको हो। त्यसपछि क्रमशः पाम तेल ६७ करोड १२ साख रुपैयां, सूर्यमुखी तेल ६५ करोड १४ लाख रुपैयाँ, गलैचा ५५ करोड १८ लाख रुपैयाँ, र्यान ४६ अर्ब ३२ करोड बराबरको निर्यात भएको छ । चिया ३४ करोड २३ लाख रुपैयाँ, अलैची ३२ करोड १७ लाख रुपैयाँ र जुस २३ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

सरकारले व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९ तयार गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । कार्ययोजनाको उद्देश्य नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा बढ्दै गएको व्यापार घाटालाई कम गर्नु यस कार्ययोजनाको प्रमुख उद्देश्य रहेको थियो । 

www.yuhahunkar.com

सम्बन्धित समाचार