यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण

4.7k Shares

काठमाडौँ । लागु औषध प्रयोग कर्ता महिला तथा यौनिक अल्पसङ्ख्यकमाथि हुने विविध प्रकारका हिंसा, क्षति न्युनीकरण र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।   

नेपाल परिवार नियोजन सङ्घ र दृष्टि नेपालको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत लागु औषध प्रयोगकर्ता महिला तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि लैङ्गिक, यौन तथा प्रजनन स्वास्थ्य अधिकार र क्षति न्युनीकरणसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।  

डा.प्रविन शाक्यले विगत ६६ वर्षदेखि नेपाल परिवार नियोजन सङ्घले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण र प्रजनन् स्वास्थ्यसँग सम्बन्धीत सेवासमेत प्रदान गर्दै आएको बताउनुभयो । उहाँले लागु पदार्थ प्रयोग कर्ता र लैङ्गिक अल्पसख्यक, यौन श्रमिक यौन स्वास्थ्यसम्बन्धी रोगको जोखिममा रहेकाले यस समुदायलाई विभेद मुक्त सेवा प्रदान गर्न र सेवाको पहुँचसम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो । 

दृष्टि नेपालका मनोसामाजिक परामर्शदाता प्रतिक थापाले लागु औषध प्रयोग कर्ता तथा यौनिक अल्पसङ्ख्यक समुदायको नागरिकता नबन्ने, घर परिवार, समाज, समुदायले नस्वीकार्ने, रोजगारी, आर्थिक अभावलगायत प्रजनन् स्वास्थ्यकोसमेत जोखिममा रहँदा मानसिक स्वास्थ्य पनि खराब हुने बताउनुभयो ।

परियोजना संयोजक प्रकाश डंगोलले वि.स.२०१६ सालमा स्थापना भएदेखि नेपाल परिवार नियोजन सङ्घले परिवार नियोजनसम्बन्धी सेवासहित यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको प्रवर्धनका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच गाउँ, गाउँसम्म र विपन्न वा सिमान्तकृत वर्गसम्म विस्तार गर्न सरोकारवाला संस्थासँगको समन्वय गर्दै आएको र यसै क्रममा दृष्टि नेपालमार्फत काम गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।    उहाँले लागु औषध प्रयोग कर्ता महिला तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित यस्ता कार्यशाला, तालिम, प्रशिक्षणले समुदायका लागि सुरक्षित, सम्मानजनक सेवा पाउन जागरुकता फैलाउने विचार व्यक्त गर्नुभयो । दृष्टि नेपालकी संस्थापक अध्यक्ष परिना लिम्बूले प्रजनन् स्वास्थ्य तथा क्षति न्यूनिकरण सेवामा अन्तर-संस्थागत सहकार्य अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै स्वास्थ्य सेवा प्रदायकले लागु औषध प्रयोग कर्ता सेवा ग्राहीले लान्छना र भेदभावरहित सेवा पाउने हक रहेको बताउनुभयो । 

दृष्टि नेपालका तथ्याङ्क अभिलेख अधिकारी सोना सुर्खेती र मनोपरार्शदाता प्रतिक थापाले सहभागीलाई हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रजनन् स्वास्थ्य अधिकार र क्षति न्युनीकरण, हिंसा भइहालेमा अपनाउनुपर्ने कानुनी बाटो, मनोसामाजिक परामर्शको सवालमा अभिमुखीकरण गरिएको थियो ।  

सम्बन्धित समाचार