काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप–३०) मा सहभागीहरूले नेपालले पर्वतीय एजेन्डालाई अन्तर्राष्ट्रिय दस्तावेजमा स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयले आज काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोपका विभिन्न वार्तामा सहभागी जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले नेपालले निरन्तर उठाउँदै आएको हिमालको मुद्दालाई कोप–३० ले महत्त्वपूर्ण स्थान दिएको बताउनुभयो । नेपालको नेतृत्वमा किर्गिस्तान, भूटान लगायतका अन्य देशहरूसँग मिलेर गरेको पहल सफल भएको उहाँको भनाइ छ ।
क्षेत्रीले हानि/नोक्सानीको मुद्दालाई उठान गर्न पनि २० वर्षभन्दा बढी लागेको स्मरण गराउँदै नेपालले हिमालको मुद्दालाई निरन्तरता दिनुपर्ने र यसको विज्ञानबारे धेरै अध्ययन गरी अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालले अबको ध्यान अनुकूलन वित्त र हानि/नोक्सानी कोषको परिचालनका लागि वैज्ञानिक तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र प्रशोधन गरेर तथ्याङ्कीय दस्तावेज तयार गर्न क्षमता अभिवृद्धिमा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।