हराउँदै थारू समुदायको परम्परागत खानपान र जीवनशैली

4.1k Shares

दाङ । थारु समुदायको पहिचान परम्परागत मौलिक नाचगान, भेषभुषा, कला, संस्कृति मात्र होइन, उनीहरूको खानपान प्रणाली पनि अनौठो र अनुकरणीय छ । तर पछिल्लो समय थारु परम्परागत खानपान र जीवनशैली हराउन थालेका छन् । 

विगतमा थारु समुदायले विभिन्न समयमा दिनको पाँच पटकसम्म खानपान गर्ने प्रचलन थियो । विहान सबेरै बिहानको नास्ता  ‘बासी’ अर्थात् अघिल्लो रातको भात तथा अन्य परिकार, त्यसपछि विहानको खाना  ‘कल्वा’ खाने चलन छ । दिउँसोको खाजा  ‘मिन्ही’, बेलुकीको खाजा  ‘सिन्ही’ र  रातिको खाना  ‘बेरी’ खाने चलन छ ।

त्यस बेलाको परम्परागत खानपानसँग थारु समुदायको श्रम र जीवनशैलीसँग पनि जोडिएको संस्कार, संस्कृति छ। श्रममा धेरै मेहनत गर्नुपर्ने भएकाले पहिलाको समयमा पटक पटक खानपान गर्ने चलन थियो । घोराही उपमहानगरपालिका ६ लख्वारका ७० वर्षिया भागीराम चौधरीले भन्नुभयो, “पहिलाको जमानामा काम पनि धेरै गर्ने चलन थियो । खानपान पनि त्यस्तै थियो, खानपानले जोस, जागँर चल्ने, शरीर फुर्तिलो हुने भएकाले पटक पटक गरेर पाँच पटकसम्म  खानपान गर्ने चलन थियो ।” 

सुतेर उठ्ने वित्तिकै खेतबारीमा काम गर्ने भएकाले विहानै नास्ता खानुपथ्र्यो । जसलाई थारु समुदायमा  ‘बासी’ खाने भनिन्छ । घरमा भन्दा धेरै खेतबारीमा र वनपाखामा काम गरेर धेरै समय विताउने चलन छ । परिश्रममा बढी विश्वास गर्ने भएकाले कामअनुसार खानपान हुनुपर्छ, उहाँले भन्नुभयो, खेतबारी, वनपाखाको काम सक्यो भने फुर्सदका समयमा नदी, खोला तथा खोल्सामा माछा मार्ने गरिन्छ । माछा, घोंघी, गंगटाको परिकार थारु समुदायमा धेरै खाने चलन छ ।” यो खानपानले स्वास्थ्यलाई सन्तुलित, स्वस्थ बनाउनमा सहयोग गरेको उहाँको भनाइ छ।

“पहिलाको खानपानले पनि स्वस्थ, तन्दुरुस्त, बलियो हुन्थे नै, आयु पनि उत्तिकै लामो हुन्थ्यो, घोराही ७ सिसहनियाका ७२ वर्षिया बेझलाल चौधरीले भन्नुभयो । हाम्रो पालाको खानपान झोलिलो, पोषिलो पनि हुन्थ्यो, र खानपानसँगै खेतबारी, बनपाखामा धेरै परिश्रम गर्नुपथ्र्यो ।” अहिले खानपान पनि सीमित हुन थाल्यो, त्यो पनि बढी चिल्लो भुटुवा खाने प्रचलन बढेको उहाँको भनाइ छ।

अहिलेको समय फेरिएको उहाँले बताउनुभयो । विद्यालय, अफिसिसियल जागिर र सहरिया जीवनशैलीसँगै पाँच पटक खाने त्यो अर्गानिक खापनपानको परम्परा हराउँदै गएको छ उहाँले भन्नुभयो । अहिले अधिकांश घरमा बिहान, दिउँसो र बेलुका तीन टाइम मात्र खाने चलन रहेको छ । त्यो पनि रैथानै तथा अर्गाकिन खानपानको ठाउँमा चिया बिस्कुट र रेडिमेड नास्ताले स्थान लिएको छ ।

सम्बन्धित समाचार