एसएसपीको घुमुवा हुन् यिनी श्याम बिहारी

6.9k Shares

रूपन्देही भैरहवा स्थित प्रदेश प्रहरी कार्यालयका प्रमुखमा एसएसपी महेन्द्र खड्का छन्। यस कार्यालयको कामको प्रकृति फरक प्रकारको छ — अपराध अनुसन्धान, ठूलाठूला अपराधको विशेष अनुसन्धान, मातहतका जिल्ला प्रहरीले बुझाएका वा अनुसन्धान गरिरहेका मुद्दाको अनुगमन जस्ता थुप्रै काम।
तर अहिले हाकिमको आदेश वा परिचालन हो, यस्ता प्रदेश प्रहरी कार्यालयबाट पनि घुमुवा भन्दै बाहिर निस्कने र व्यापारीदेखि तस्करलाई भेट्ने, रकमको लेनदेन गर्ने कार्य देखिन र भेटिन थालेको छ। यहाँ भैरहवाको कार्यालयमा पनि यस्तै गुनासो आउन थालेको छ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा बसोबास गर्ने सिपाही श्याम बिहारी यादवलाई उक्त कार्यालयले वा एसएसपीले घुमुवाको रूपमा परिचालन गरेका हुन्, वा उनी आफैँ एसएसपीको घुमुवा भन्दै हिँडेका हुन्। उनी पाँच वर्षअघि कपिलवस्तुमा कार्यरत थिए। घर रूपन्देही, यसअघि कपिलवस्तुमा कार्यरत र अहिले प्रदेश प्रहरी कार्यालयमा पाँच वर्षदेखि कार्यरत रहेको कारण होला, उनले सबै कारोबारीलाई चिनेका छन्। केही दिनअघि मायादेवी खोलामा रातिराति गिट्टी–बालुवाको चोरी तस्करी गर्नेहरूसँग उनले भेटघाट गरेको यहाँ सार्वजनिक भएको छ। बालुवा कारोबारीहरूले एसएसपीको घुमुवा श्याम बिहारीलाई भेटेको भन्दै हिँडेका छन्।
उनी यहाँ लामो वर्षदेखि कार्यरत छन्। यसबाहेक यही कार्यालयको प्रशासन शाखामा कार्यरत बरिष्ठ हवल्दार ज्ञानु कुँवरले समेत सिपाही श्याम बिहारी यादवलाई संरक्षण गर्दै आएका छन्। बरिष्ठ हवल्दार कुँवर १५ वर्षदेखि यहाँ कार्यरत छन्। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बसेका प्रहरी कर्मचारीको नामावली माग्दा समेत उनीहरूको नाम लुकाउने गरेको कारण उनीहरू यति लामो समयदेखि यहाँ बसिरहन सफल भएका छन्। यसतर्फ एसएसपी सापको मात्र होइन आईजीपी सापको पनि ध्यान जानुपर्ने थियो।

सम्बन्धित समाचार