निःशुल्क दन्त शिविरमा ३३६ को दाँत चेकजाँच

5.3k Shares

रेसुङ्गा (गुल्मी)। गुल्मीको मदाने गाउँपालिका –२ बाँझकटेरीको मधाने सामुदायिक स्वास्थ्य केन्द्रले सञ्चालन गरेको दन्त तथा महिला रोगसम्बन्धी बृहत स्वास्थ्य शिविर सकिएको छ । 

करिव तीन सातासम्म सञ्चालन भएको दन्त शिविरमा ३३६ जनाले दाँत चेकजाँज गरेका छन् । शिविरमा २०० जनाको ३१६ वटा दाँत उखेल्ने र १०१ जनाको दाँत फिलिङ्ग गरिएको मधाने सामुदायिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

दन्त सर्जन पवनकुमार गुप्ता र पूजा कुवँरको नेतृत्वमा दाँतको उपचार गरिएको हो । दन्त रोगको उपचार लिनेमा पुरुषको तुलनामा महिला दोब्बर रहेको मधाने सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख हेल्थ असिस्टेण्ट यमलाल भुसालले बताउनुभयो । 

साथै स्वास्थ्य केन्द्रले स्थानीय बिद्यालयमा ‘स्कुल हेल्थ प्रोग्राम’ गरेको छ । कार्यक्रमपछि सम्पूर्ण शिक्षक बिद्यार्थीलाई कोलगेट तथा ब्रस बितरण गरिएको थियो । स्वास्थ्य केन्द्र प्रमुख भुसालका अनुसार महिला रोगसम्बन्धी शिविरमा २०० भन्दा बढी महिलाले सेवा लिएका छन् । 

शिविरमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने तथा पाठेघर खसेको समस्या लिएर आएका महिलाको उपचार गरिएको थियो । पाठेघर खसेका छ जना महिलामा रिङ प्रेसरी राखिएको र दुई जनामा जटिल समस्या देखिएपछि रिफर गरिएको भुसालले जानकारी दिनुभयो ।  

मधाने सामुदायिक स्वास्थ्य केन्द्र बाँझकटेरीको पनि विकट बसुन्धरामा २०६८ सालमा स्थापना भएको थियो । सदरमुकामका अस्पतालको पहुँचबाट टाढा र सडक सञ्जालको विकास नपुग्दै स्थापना भएको स्वास्थ्य केन्द्रले स्थानीय नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गरेको थियो । 

अहिले पनि स्वास्थ्य केन्द्रमा गुल्मी र प्युठान तथा अर्घाखाँचीका नागरिक उपचारको लागि पुग्नेगरेका छन् । दक्ष जनशक्ति, मासिक शिविर, औषधी उपकरण र स्वदेश तथा विदेशी बिशेषज्ञ डाक्टरमार्फत उपचार हुने भएकाले मधाने सामुदायिक स्वास्थ्य केन्द्रको गरिमा समाजमा राम्रो राख्न सकिएको स्वास्थ्य केन्द्र प्रमुख भुसालले बताउनुभयो ।

सम्बन्धित समाचार