मनाङले गुमाएको 'स्वर्णिम' मौका

21k Shares

काठमाडौं । नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगको जारी सिजन लगभग आधा खेल सकिएका छन् । आधा खेल सकिँदा शनिबार मनाङ मर्स्याङ्दी र साविक विजेता मछिन्द्रबीच प्रतिस्पर्धा भएको थियो । जुन खेल नेपाली क्लब फुटबलका लागि सर्वाधिक महत्वको थियो ।
महत्वपूर्ण यस अर्थमा कि, लिग विजेताले खेल्ने एएफसी कप छनोट प्रतियोगिता हो । जुन अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्यालेन्डर मिलाउन नसक्दा सातौँ चरणमा एएफसी क्लब लाइसेन्स प्राप्त टोलीमध्ये शीर्ष स्थानमा हुने टोलीले एएफसी कप छनोट खेल्ने भएको छ ।
नेपालमा चार क्लबले मात्र एएफसी क्लब लाइसेन्स हासिल गरेका छन् । बाँकीले अझै त्यो मापदण्ड पूरा गरेका छैनन् । क्लब लाइसेन्स लिनेमा मनाङ, मछिन्द्र, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) हुन् ।
पाँचौँ चरणको खेल सकिँदा मनाङले शीर्ष स्थानमा दुई अंकको अग्रता लिएको थियो । दोस्रो स्थानमा थियो मछिन्द्र । त्रिभुवन आर्मी मनाङ भन्दा चार अंकले पछाडि थियो । त्यस्ते अवस्थामा मनाङले मछिन्द्रलाई हराइदिएको भए एएफसी कपमा स्थान पक्का गर्ने थियो ।
जितपछि मनाङले स्पष्ट ५ अंकको अग्रता बनाउँदै सातौ चरणको खेल अघि नै एएफसी कप छनोट खेल्ने पक्का गर्ने थियो । तर इन्जुरी समयमा सम्हालिन नसक्दा मनाङले सविक विजेता मछिन्द्र क्लबलाई १–० को नतिजा सुम्पियो । जसका कारण एएफसी कप छनोट खेल्ने स्वर्णिम अवसर मनाङले आफ्नो हातबाट गुमायो ।
‘‘बराबरी खेले पनि हामी माथि नै हुन्थ्यौं । तर हामीले त्यसलाई ध्यान पुर्‍याउन सकेनौँ । जसरी पनि तीन अंक लिनका लागि खेल्यौँ । जितेको भए हामी एएफसी कपमा छनोट हुन्थ्यौँ । त्यहीमात्र सोच्यौँ । त्यसका केही गल्ती भयो,’’ मनाङका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने ।
अब मनाङले शीर्ष स्थानमा बस्दै एएफसी कप छनोटमा स्थान बनाउन सातौ चरणमा ब्रिगेड ब्वाइजमाथि विजयी नतिजा निकालेर मात्र पुग्दैन । मछिन्द्रले नेपाल पुलिस क्लबसँग हार्नुपर्छ वा बराबरी खेल्नुपर्छ ।
मनाङका मुख्य प्रशिक्षक तामाङले अझै आश भने मारेका छैनन् । उनले थपे, ‘‘एक मौका अझै बाँकी छ । हामीले अझै हार मानेका छैनौँ । तर, त्यो हाम्रो हातमा छैन । हामीले जित्ने मछिन्द्र बराबरीमा रोकियो भने सम्भावना छ । गणितीय सम्भावना कायमै छ । आशा बाँकी छ ।’’
सातौँ चरणमा मनाङले घरेलु मैदान मानेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइजविरुद्ध खेल्नेछ । मछिन्द्रले नेपाल पुलिसविरुद्ध दशरथ रंगशालामा खेल्नेछ । छैटौँ चरणमै त्रिभुवन आर्मीले आइतबार थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । त्यससँगै त्रिभुवन आर्मीको सम्भावना समाप्त भयो । एपीएफ रेलिगेसनबाट बच्न संघर्षरत छ । त्यसकारण अब सम्भावना मनाङ र मछिन्द्रको मात्र छ ।
शनिबार मनाङ ४–१–४–१ को फर्मेसनमा खेलेको थियो । मछिन्द्र भने ४–२–३–१ को फर्मेसनमा खेलेको थियो । मछिन्द्रले उक्त खेलमा बिमल घर्तिमगरलाई पहिलो रोजाईमा खेलाएको थियो । उनले पूरै समय मैदानमा विताए । भरपर्दा रक्षक रञ्जित धिमालले चोटका कारण १९औँ मिनेटमा मैदान छाडेपछि कप्तान सुजल श्रेष्ठले ‘लेफ्ट ब्याक’ को जिम्मेवारी सम्हालेका थिए । सुजलको पोजिसन फरवार्ड हो । तर, उनले त्यो दिन लेफ्ट ब्याकमा बसेर मनाङका कप्तान अञ्जन विष्टलाई रोक्न सफल भए । रञ्जित धिमालको स्थानमा मनिष डाँगी छिरेका थिए । मनिष र बिमलले समय समयमा आफ्नो पोजिसन ‘स्विच’ पनि गरेका थिए ।
खेलमा मनाङले दबाब बनाए पनि गोलका लागि एउटै राम्रो अवसर सिर्जना गर्न सकेन । इन्जुरी समयमा मनाङका एडेजाला सोमिडेले ह्यान्ड गरेपछि प्राप्त फ्रीकिक अवसरमा सुनिल बलले दर्शनीय गोल गर्दै मछिन्द्रलाई तीन अंक दिलाए ।
‘‘अझै एक खेल बाँकी छ । फुटबलमा जे पनि हुनसक्छ । त्यसैले ढुक्क हुने स्थिति छैन । अर्को एक खेल जित्नै पर्छ । अब हामी त्यसमै केन्द्रित हुन्छौँ,’’ मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले भने ।
फेरिएको संकटा
सहिद स्मारक ‘ए’ डिभजिन लिगको पुरानो क्लबमध्ये संकटा एक हो । संकटाले तीन पटक उपाधि जितिसकेको छ । तर, त्यो एकादेशमा जस्तै भएको छ । पछिल्लो समय उपाधि जितेको २०४२ सालमा हो ।
त्यसपछि २०७५ मा संकटाले दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । त्यही बेलाका खेलाडी विष्णु गुरुङ क्लबका प्रशिक्षक छन् । प्रशिक्षक गुरुङले क्लबमा देखिने गरी परिवर्तन गरेका छन् । टिममा ठुला नाम गरेका कुनै पनि खेलाडी छैनन् ।
तर, संगठित प्रदर्शनका कारण टिमले नतिजा ल्याइरहेको छ । छैटौँ चरणको खेल सकिँदा संकटा १२ अंकका साथ तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मछिन्द्र भन्दा दुई अंकले मात्र पछाडि हो भने चौथो स्थानको त्रिभुवन आर्मीभन्दा दुई अंकले माथि हो ।
लिगमा तीन क्लबले अपराजित यात्रालाई कायम राखेका छन् । तीनमध्येको एक संकटा पनि हो । संकटाबाहेक त्रिभुवन आर्मी र मछिन्द्रले मात्र अहिलेसम्म हारेको छैन ।
रेलिगेसनमा संघर्ष
यसपटक पुछारमा रहने दुई टोली ‘बी’ डिभिजनमा रेलिगेट हुन्छन् । त्यसकारण पनि रेलिगेसनबाट बच्न चर्को संघर्ष भइरहेको छ । यतिबेला च्यासथ युथ ४ र फ्रेन्ड्स तीन अंकका साथ रेलिगेसन क्षेत्रमा छन् ।
समान पाँच अंक जोडेका एपीएफ र ब्रिगेड ब्वाइज क्रमशः ११ र १२औँ स्थानमा छन् । जुन रेलिगेसन क्षेत्रमा रहेको च्यासलभन्दा एक अंकले माथि हो भने फ्रेन्ड्सभन्दा दुई अंकले माथि हो । ६ अंक जोडेको नेपाल पुलिस दसौँ स्थानमा छ ।
लिगमा एक खेलको नतिजाले पनि रेलिगेसनमा धेरै उथलपुथल हुन सक्छ । त्यसैले अन्तिम समयसम्म रेलिगेसनबाट बच्न संघर्ष जारी रहने निश्चित देखिएको छ ।
‘मिड टेबल’मा रहेका थ्री स्टार, न्युरोड टिम (एनआरटी) र जावलाखेलको पनि समान सात अंक छ । जुन रेलिगेसनमा रहेको च्यासलभन्दा तीन अंकले मात्र माथि हो । अझ भनौँ पाँचौँ र छैटौँ स्थानमा रहेका सातदोबाटो र हिमालयन शेर्पाको पनि आठ अंक छ ।

सम्बन्धित समाचार