सामाजिक सुरक्षा कोषमा योगदानको रकम १ खर्ब रुपैयाँ पुग्दै

3.7k Shares

काठमाण्डौ – सरकारले शुरू गरेको सामाजिक सुरक्षा कोषमा झन्डै एक खर्ब रुपैयाँ बराबर योगदान रकम पुगेको छ । कोषका अनुसार अहिलेसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ रुपैयाँ बराबर पुगेको छ । कोषमा अहिलेसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ जना पुगेका छन् ।

यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ । कोषले अहिलेसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६ सय ८४ रुपैयाँ बराबरको रकम दाबी भुक्तानी गरेको छ । कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुई अर्ब ५१ करोड २० लाख ९४ हजार आठ सय २२ रुपैयाँ, दुर्घटना तथा अशक्तता दाबी २२ करोड ८६ लाख ५३ हजार चार सय ७५ रुपैयाँ बराबर रहेको छ ।

त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम २९ करोड सात लाख ७२ हजार एक सय १६ रुपैयाँ र अवकाश दाबी रकम १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार दुई सय ७१ रुपैयाँ बराबर छ । सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने वाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ ।

स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् । कोषमा नियमित रूपमा योगदान गर्नेले औषधीउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् ।

कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशिल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

सम्बन्धित समाचार