सुदूरपश्चिम रोयल्स : साथ नछोड्ने समर्थक, विश्वास नतोड्ने खेलाडी !

4.2k Shares

काठमाण्डाै – अछामको ढकारी गाउँपालिका–७ का भक्त जैशी अहिले कीर्तिपुरमा बस्दै नासुको तयारी गर्दै हुनुहुन्छ । सुदूरपश्चिमको कुनै खेल पर्नेबित्तिकै उहाँ कक्षा सकेर सीधै रंगशाला पुग्नुहुन्छ, किनकि उहाँ सुदूरपश्चिम रोयल्सका साथ नछोड्ने समर्थक हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामी जहाँ गए पनि क्रिकेट नै हाम्रो पहिचान हो । हाम्रा खेलाडी नै हाम्रो गर्व हुन् ।’

सुदूरका धेरै युवा जस्तै भक्तको मनमा एउटा सपना छ, खेत–बारीमा मोजाको बलले खेलिएको खेल भविष्यमा स्टेडियमसम्म पुग्यो भने अझै धेरै दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, सन्दीप जोरा जन्मिनेछन् ।

९ जिल्लाको सुन्दर सुदूरपश्चिमका धेरै ठाउँमा आज पनि इन्टरनेटको सुविधा छैन । कतिपय गाउँमा त अहिले मात्र बिजुली पुगेको छ । धेरै अभिभावकलाई क्रिकेट के हो भन्ने पनि थाहा छैन । त्यसैले यहाँका धेरै युवाका लागि कमाइ नै मुख्य कुरा हो । दिनभर क्रिकेट खेल्ने र बेलुका घर फर्किँदा आमाबाबुको अनुहार कसरी हेर्ने भन्ने डर अझै धेरैको मनमा बस्छ । घरमा ‘फलानाले विदेश गएर यति कमायो, तिमीहरू खेल्छौ मात्रै !’ भन्ने सुनिरहनुपर्छ ।

देशले क्रिकेटमा पाइरहेको निरन्तर सफलताले आशा जगाए पनि अभिभावकलाई अझै आफ्नो छोराछोरीले खेलबाट के पाउँछन् भन्ने शंका रहिरहेकै छ । धेरैजना अझै पनि खेलकुदमा नलाग्न सुझाव दिन्छन् । तर पनि सुदूरपश्चिमका स्थायी बासिन्दामध्ये धेरैको क्रिकेटप्रतिको रुचि असाधारण छ । धेरै युवाका घरमा ब्याट–बल भेटिन्छन्, तर ‘देशका लागि खेलाडी बन्छु’ भन्ने धेरै युवाको सपना भने सपना मै सीमित रहन्छ ।

धान–गहुँ काटिएका खेतबारीमा खेल्दै, सडक र गल्लीमा खेल्दै, अब बल्ल सामान्य मैदानमा खेल्ने अवसर भेटिएको छ । तर आवश्यक पूर्वाधार भने अझै अपूरा छन् । धेरैलाई आज पनि खेतबारीमै खेल्नुपर्ने बाध्यता छ । क्रिकेटमा आफ्नो भविष्य बनाउन चाहने युवाहरूलाई गाउँबाट शहर आएर बस्नु नै अनिवार्य जस्तै बनेको छ ।

सुदूरपश्चिममा क्रिकेटप्रति चासो दिन प्रतिदिन बढिरहेको छ । यदि यही क्षेत्रमै स्तरीय रंगशालाहरू निर्माण हुन सके अझ उत्कृष्ट खेलाडीहरू जन्मिने सम्भावना धेरै छ । धनगढीमा रहेको फाप्ला क्रिकेट रंगशाला अहिले जीर्ण अवस्थामा छ, तर धनगढीलाई धेरै पहिलेदेखि नै ‘सिटी अफ क्रिकेट’ अर्थात् ‘क्रिकेटको शहर’ भनेर चिनिन्छ । देशभर कुनै ठूलो राष्ट्रिय क्रिकेट प्रतियोगिता नचल्दा पनि धनगढीमै ‘धनगढी प्रिमियर लिग’ शुरू भएको थियो । यही लिगलाई सुदूरपश्चिमको क्रिकेट विकास र उत्साहको आधार मानिन्छ ।

धनगढी र महेन्द्रनगरमा क्रिकेटको क्रेज विशेष रूपमा उच्च छ, भारतसँगको भौगोलिक नजिकताका कारण । सुदूरपश्चिमका मानिसहरू शारीरिक रूपमा मेहनती र बलिया हुने प्रवृत्ति भएकाले यहाँका खेलाडीहरू पनि चुस्त, तन्दुरुस्त र फिट हुन्छन् ।

पहिले ‘सबैभन्दा टाढाको प्रदेश’ भनेर परिचित सुदूरपश्चिमको रूप अहिले बदलिँदै छ । समाज शिक्षित, सचेत र योग्य बन्छ भन्ने संकेत देखिन थालेका छन् । खेलकुदप्रति धारणा पनि क्रमशः रूपान्तरित भइरहेको छ । समयसँगै सुदूरपश्चिमले नयाँ सोच आत्मसात् गरिरहेको छ—खेललाई जोश र जुनुनसहित लिन थालिएको छ ।

विभिन्न क्रिकेट प्रतियोगिताहरू नियमित भइरहेका छन् । विभिन्न खेल एकेडेमीमा भर्ना दर बढिरहेको छ, केही अभिभावक पनि अब खेलकुदमा भविष्य छ भन्ने बुझाइमा पुगेका छन् । यसमा एनपीएलले ठूलो भूमिका खेलेको स्पष्ट देखिन्छ । अब क्रिकेटमार्फत नाम, दाम र सम्मान कमाउन सकिन्छ भन्ने विश्वास पनि बढ्दै गएको छ ।

पछिल्लो समय रोजगारी, उच्च शिक्षा र अवसरका लागि सुदूरपश्चिमका धेरै युवा काठमाण्डौ लगायतका शहरतर्फ आकर्षित भइरहेका छन् । देशका अन्य शहरहरूमा जस्तै काठमाण्डौमा पनि सुदूरपश्चिमका धेरै भेटिन्छन्—विशेषगरी कीर्तिपुर क्षेत्रमा । सडकमा हिँड्दा पनि प्रायः सुदूरपश्चिमी भाषामै कुरा गर्दा मानिसहरू देख्न पाइन्छ । त्रिवि क्रिकेट मैदानमा खेल्ने कतिपय खेलाडीहरू पनि यही क्षेत्रका हुन्छन् ।

त्यसैले सुन्दर सुदूरपश्चिममा क्रिकेटको क्रेज कति छ भन्ने कुरा रंगशालामा पुगेर हेर्दा सजिलै बुझिन्छ । सुदूरपश्चिम र क्रिकेटबीचको सम्बन्ध एकदमै गहिरो र अटुट छ । नेपाली राष्ट्रिय टोलीमा पनि सुदूरपश्चिमका प्रभावशाली खेलाडीहरूको उपस्थिति छ र समर्थकहरूको उत्साह त झन् अतुलनीय नै छ । खेलाडी दमदार छन् र समर्थकहरूको जोश उस्तै दमदार ।

सुदूरपश्चिमका समर्थक रंगशालामा धेरै उपस्थित हुने मुख्य कारणमध्ये एक—कीर्तिपुरमा अध्ययन गर्ने सुदूरपश्चिमका विद्यार्थीको संख्या उल्लेख्य छ । शहरमा मात्र होइन अहिले त एनपीएल हेर्नकै लागि गाउँघरमा मोबाइल डाटा खरिद गरेरै खेल हेर्ने चलन बढेको छ । एक–दुई खेल प्रत्यक्ष हेर्नकै लागि सुदूरपश्चिमबाट राजधानीसम्म आएर फर्किनेहरू पनि थुप्रै भेटिन्छन् । क्रिकेटप्रतिको उनीहरूको लगाव अथाह छ ।

खेलमा हारको सम्भावना देखिँदा वा कठिन अवस्थामा पनि सुदूरपश्चिमका समर्थकहरू पछि हट्दैनन्—यो नै उनीहरूको पहिचान हो । त्यसैले रंगशालामा सबैभन्दा बढी सुदूरपश्चिमकै समर्थक भेटिनु आश्चर्यको विषय होइन । उनीहरूबीच आपसी एकता र साथ–सहयोग पनि निकै मजबुत छ । भूगोलका हिसाबले टाढा र कठिन क्षेत्रबाट राजधानीमा आएर आफ्नो टोलीलाई समर्थन गर्न पाउनु उनीहरूका लागि गर्वको विषय बनेको छ ।

डोटीको शिखर नगरपालिकाका सुरेन्द्र शाही अहिले काठमाण्डौको बूढानीलकण्ठमा बस्नु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीहरू खेल्दा सबैलाई गर्वको अनुभूति हुन्छ ।’

बैतडीको पाटन नगरपालिका घर भई अहिले ललितपुरको पुल्चोक बस्ने पुष्करबहादुर चन्दलाई पनि आफ्नै टोलीको खेल हेर्न विशेष इच्छा लाग्छ । आफ्नो टिमले राम्रो खेलेको, जितेको र उत्कृष्ट प्रदर्शन गरेको देख्ने चाहना सबै समर्थकको समान हुन्छ । त्यसैले काममा व्यस्त भए पनि उहाँ बिदा मिलाएर, फुर्सद निकालेर खेल हेर्न रंगशालासम्म पुग्नु हुन्छ । आफ्नै टोलीले उत्कृष्ट प्रदर्शन गरेको हेर्दा उहाँलाई अपार खुशी लाग्छ ।

पहिले पहाडी डाँडा, खेतबारी र स्थानीय मैदानमा मात्र सीमित हुने युवाहरू आज देशमै यति ठूलो प्रतियोगिता हुँदै गर्दा टाढाटाढाबाट त्रिवि रंगशालामा जम्मा हुनु सुदूरपश्चिमका लागि गौरवको विषय हो ।

अछामको कमलबजार नगरपालिका घर भई अहिले काठमाण्डौको बानेश्वर बस्ने विकास थापालाई पहिले क्रिकेटमा खासै रुचि थिएन । तर लोकसेवाको तयारीका क्रममा क्रिकेटसम्बन्धी प्रश्नहरू—नेपालमा क्रिकेट कहिलेदेखि खेल्न थालियो, नेपालले पहिलो विश्वकप कहिले खेलेको हो जस्ता—बारम्बार आइरहेपछि उहाँले बिस्तारै क्रिकेटबारे बुझ्न थाल्नु भयो । बुझ्दै जाँदा, हेर्दै जाँदा क्रिकेटप्रतिको रुचि बढ्दै गयो । अहिलेः क्रिकेट उहाँभित्र नशाजस्तै बनेको छ ।

धेरैलाई पहिलो खेल नै सुदूरपश्चिमको होस् भन्ने अपेक्षा थियो । तर तेस्रो दिन, चौथो खेलमा मात्र सुदूरपश्चिमले पहिलो पटक मैदानमा प्रवेश गर्‍याे । खेल ढिला भए पनि समर्थकको उत्साह भने झन् चुलिएको थियो—रंगशाला पहेँलो जर्सी लगायका समर्थकहरूले भरिएको थियो । समर्थकहरूको साथ र खेलाडीहरूको मेहनतले सुदूरपश्चिमले पहिलो खेलमै रोमाञ्चक जित निकाल्यो ।

सुदूरपश्चिम रोयल्स एनपीएलको सबैभन्दा बलियो टोलीमध्ये एक मानिन्छ । यस टोलीमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा ६ छक्का हानेर कीर्तिमान बनाएका ब्याटर तथा कप्तान दीपेन्द्रसिंह ऐरी छन् । यससँगै अस्ट्रेलियाका दिग्गज ब्याटर क्रिस लिन पनि सुदूरपश्चिममै छन् ।

नेपाललाई सन् २०१४ को विश्वकपमा चिनाएका अनुभवी विनोद भण्डारीका साथै जोस ब्राउन, ईशान पाण्डे, आरिफ शेख, नरेनदीप, स्कट कुग्गेलिजेन, हरमित सिंह, अविनाश बोहरा लगायतका खेलाडीहरूले टोलीलाई अझ बलियो बनाएको छ ।

यी सबै खेलाडीहरूप्रति समर्थकको ठूलो आशा छ—उनीहरूले यसपालि टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरेका छन् । अघिल्लो संस्करणमा फाइनलसम्म पुग्न सफल भएको यो टोली अहिले पनि उत्तिकै सन्तुलित र प्रतिस्पर्धी देखिन्छ ।

समर्थकले सुदूरपश्चिमको मनोबल कहिल्यै घट्न दिएका छैनन् । उनीहरूको अटुट समर्थनले खेलाडीहरूलाई निरन्तर उत्साह र ऊर्जा दिइरहेको छ । अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगे पनि अन्तिम खेलमा हार बेहोर्नुपर्‍याे ।

तर यसपटक समर्थकहरूको अपेक्षा अझै ठूलो छ—एनपीएलमा सुदूरपश्चिमका हरेक खेलाडीले उत्कृष्ट प्रदर्शन गरून् र पोहोर हातबाट फुत्किएको ट्रफी यो वर्ष कर्णाली पारि—सुदूरपश्चिममै आओस् ।

सम्बन्धित समाचार