हुम्ला – नेपाल बैंक लिमिटेडको ८९औँ वर्ष प्रवेश गरेको अवसरमा डोल्पाको सदरमुकाम दुनै बजारमा नेपाल बैंक लिमिटेड डोल्पा शाखामा एटिएम सेवा सुरुवात गरिएको छ। बिहीवार एक औपाचारिक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले एटिएम सेवा सुरु गरेका हुन्।
डोल्पा जिल्लाका सेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवामा सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा सञ्चालन गरिएको प्रदेश प्रमुख पौडेलले जानकारी दिए।
डिजिटल युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने नेपाल बैंकको उद्देश्य रहेको पौडेलले बताए।
नेपाल बैंक डोल्पा शाखाले ०३२ सालदेखि विभिन्न आरोह अबरोहबीच नागरिकलाई सेवा दिँदै आएकाले आगामी दिनमा पनि सेवाहरू थप हुँदै जाने प्रदेश प्रमुख पौडेलले बताए।
नेपाल बैंक डोल्पा शाखामा एटिएम सेवा सुरु भएपछि शुभकामना दिँदै डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले बताए।
नेपाल बैंक लिमिटेड डोल्पा शाखामा एटिएम सेवा सुचारु हुँदा स्थानीय सेवाग्राहीलाई लाइन बस्नुपर्ने झन्झट अन्त्य हुुनुका साथै डोल्पा भित्रिने पर्यटकलाई जुनसुकै समयमा सेवा लिन सहज हुुने विश्वास रहेको सहायक प्रजिअ पौडेलले बताए।
नेपाल बैंक लिमिटेड डोल्पा शाखा दुनैमा पहिलोपटक एटिएम सेवा सञ्चालन गरेकामा ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढालगायत सरोकारवाला व्यक्तिले धन्यवाद व्यक्त गरेका छन्।
आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि लोन लिने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्।
नेपाल बैंक लिमिटेड डोल्पा शाखाबाट एटिएम सेवा सुचारु भएर पनि केही सेवाग्राहीले सेवा लिइसकेको डोल्पा शाखा दुनैका शाखा प्रमुख रवि भण्डारीले बताए।
डोल्पा शाखाले ग्राहकलार्ई केही मिनेटमै एटिएम कार्ड उपलब्ध गराउने शाखा प्रमख भण्डारीले जानकारी दिए। अव स्थानीय सेवाग्राही, व्यवसायी तथा आन्तरिक पर्यटकले जुनसुकै समय सेवा लिन सक्ने भण्डारीले बताए।
डोल्पा जिल्लामा एटिएम सेवा सञ्चालन गर्ने नेपाल बैंक लिमिटेड पहिलो बैैंक बनेको छ। डोल्पामा सबैभन्दा पहिलो स्थापना भएको बैंक पनि नेपाल बैंक लिमिटेड हो।