कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍याे

2.8k Shares

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आज दिउँसो बस्ने भनिएको बैठक महाधिवेशनका विषयमा नेताहरूबीच सहमति नभएकाले पर्सि शनिवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठक स्थगित भएकाे याे चौथो पटक हो । विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कांग्रेसको केन्द्रीय कार्यसमिति लामो समयदेखि त्यसमै अल्झिएको छ ।

पार्टीको विधान अनुसार यही मङ्सिरभित्र कांग्रेसले महाधिवेशन गर्नुपर्छ । विधानले विशेष कारण देखाएर एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था गरे पनि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ गतेका लागि तोकेको चुनावअघि नियमित वा विशेष जे गरे पनि महाधिवेशन सम्पन्न गराउनुपर्ने अडान लिनुभएको छ । तर संस्थापन पक्षका पूर्व पदाधिकारीहरू भने वैशाख अगाडि महाधिवेशन गर्न सहमत भएका छैनन् ।

बैठकले महाधिवेशनको विषयमा गर्ने निर्णयमा दुई पक्ष नै अडानबाट तलमाथि नहुँदा कांग्रेस अनिर्णयको भूमरीमा फसिरहेको छ । कात्तिक २७ गते पदाधिकारी तथा सदस्यहरूले धारणा राखिसकेपछि पनि निर्णय गर्न नसक्नुले केन्द्रीय कार्यसमितिको अक्षमता र अयोग्यतामाथि पार्टीका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा नै प्रश्न उठाउन थालेका छन् ।

सम्बन्धित समाचार