हिन्दूहरुको लागि मात्रै होइन, कृश्चियनहरुको लागि पनि समाजवाद वाधक नै बनेको छ

14.4k Shares
-स्वामी सत्यब्रत 
समुद्रमा सबै माछाहरु एक नासका हुँदैनन्, ठूला माछाले साना माछालाई खाएकै हुन्छ । त्यसलाई रोक्नको लागि के गर्ने ? मानिसका हातका औला पनि एक नासका हुँदैनन्, एउटै बाबुबाट जन्मेका छोरा छोरीहरु पनि समान बुद्धिका र व्याबहारका हुँदैनन् । म पर्सा राष्ट्रिय निकुञ्जले पालेका हात्तीहरु भएको ठाउँ जसलाई हात्तीसार भन्दो रहेछन्, त्यहाँ गएको थिएँ । त्यहाँ हात्तीका देखाउने दाँत र खाने दाँत छुट्टै  हुन्छन् भनेको सुनेको थिएँ, त्यहाँ प्रत्यक्ष देखेँ कि ढोईका भने त्यस्ता दाँत हुने रहेनछन् ।
 
मत्ता हात्तीका बाहिर देखाउने दाँत  हुँदो रहेछन्, त्यस्तै साम्यवाद त समाजको लागि हात्तीका देखाउँने दाँत जस्तै हुन् तर समाजवादसम्म पनि कुनै समाजमा फलिफाप हुन सक्ला, हिन्दू र कृश्चियनहरुको लागि भने यो फलिफाप हुन सक्दैन । 
हिन्दू सनातन धर्म सँस्कृतिका अनुसार पनि मोक्षको लागि दान पारमिता अपरिहार्य नै छ । जसले दान गर्दैन, त्यसको लागि स्वर्गको ढोका बन्द छ । दान कसले लिन्छ र कसले दिन्छ ?
 
दान लिनको लागि पनि समाजमा मानिसहरु चाहिए – अनाथालय, गरीव, विधर्मी, तल्लो जातका, भूमिहीन, विरामी आदि । यदि त्यस्ता मानिसहरु छैनन्, सबै धनी छन् भने कसले दान लिन्छ वा सबै समान छन् भने दान लिने मानिस नै हुँदैनन् । महान हिन्दू विचारक करपात्री महाराजले त भन्नु भएको छ कि यदि समाजवाद आइदियो भने अराजकता पैmलिन्छ । करपात्री महाराजले एउटा पुस्तक लेख्नु भएको छ – “रामराज्य र समाजवाद” यसमा हिन्दू सनातन धर्ममा दान विना स्वर्गको ढोका खुल्न सक्दैन, मोक्ष लाभ हुन सक्दैन – 
 
“यषां न विद्या न तपो न दानं,
ज्ञानं, न शीलं, न गुणो, न धर्म
ते मत्र्यलोके भूमिभारभूता,
मनुष्य रुपेण मृर्गस्चरन्ती ।।
 
यदि समाजमा समाजवाद आयो र कोही दुःखी गरीब भइदिएनन् भने हिन्दूहरुले त शास्त्रसम्बत नै मोक्ष लाभ गर्न सक्दैनन् । करपात्रीका अनुसार समाजमा गरीव हुनु पर्दछ, उनीहरुको टाउकोमा टेकेर मोक्ष लाभ गर्न सकिन्छ भन्ने अवधारणा छ । यो कस्तो दानको महीमा हो, यो कस्तो मोक्षको मार्ग हो ? मैले हिन्दू सनातन धर्मको महानतालाई नमन गर्दा गर्दै पनि यसमा पण्डितहरुले भित्र्याएका विसङ्गतीहरुलाई भने चिरफार गर्नु पर्ने देखिन्छ । यस प्रकारको मोक्षमा कुनै प्रकारको दम छैन, यो  झूठो मोक्ष हो । 
 
पहिलो पक्ष त समाजमा समाजवाद र साम्यवाद आउन सम्भब छैन, दोश्रो पक्ष यदि आयो  समाजवाद भने कसैले कसैलाई मान्ने अवस्था आउँदैन । अझ समाजमा साम्यवाद नै आयो भने त अराजकताको सीमा रहँदैन, आदिम साम्यवाद जस्तै । 
धर्म र परमात्माप्रतिको अवधारणा धनी र गरीव बीचको कारणले गर्दा नै रहन गएको हो । पाप र धर्मको अवधारणा एउटा त कमजोरीको कारणबाट रहेको छ, गरीवको लागि पनि भगवान छ भनेर आश्था जगाएका छन् ।
 
जो  गरीव छ, जो कमजोर छ, उनीहरुले हे भगवान मलाई सक्षम बनाइदिनु होस् भनी प्रार्थना गर्दछन् । त्यसै समयमा धनीले पनि मन्दिर गए जस्तो गर्दछन् किनकि उनीहरुले गरीबलाई लुट्नको लागि पनि धर्मलाई परमात्मालाई हतियार बनाएका हुन्छन् । अन्यथा जो धनी छ, जो बलवान छ, जो हर तरहले शक्तिशाली छ, उनीहरुलाई परमात्मा, पाप, धर्म, ईश्वर आदिको डर नै छैन । हिटलर, मुसोलिनी, इभान द टेरिवल, तैमूल लङ्ग, चंगेजखाँ आदिलाई यदि आत्मा, परमात्मा, ईश्वर, स्वर्ग नर्क आदिको ख्याल मात्रै पनि हुन्थ्यो भने एकै चिहानमा हजारौंलाई गाड्ने थिएनन् होला, एउटा गोलीले लाइनमा राखेर पचास÷पचास जनालाई मार्ने थिएनन् होला । 
 
एउटा सत्य के हो भने जो भौतिक रुपमा सक्षम छ, ऊ धार्मिक भएको बाहाना गर्दछ, ऊ खासमा धार्मिक होइन तर धार्मिक भएको बाहाना गरेन भने उसलाई उसैका नोकर चाकरले पनि टेर्न छोड्छन् । त्यो धनी व्यक्तिको मन्दिरप्रतिको आश्था, ईश्वरप्रतिको आश्था आदि देखावटी हो । उसमा कुनै श्रद्धा हुँदैन, त्यसैले त्यो धनी व्यक्ति क्रुर हुन्छ । नोकर चाकरको त्यो धनी व्यक्तिप्रतिको आश्था भनेको डर र त्रासले गर्दा रहेको हो ।
 
यस धर्तीमा कसैले कसैको काम दुई कारणले गर्दछ, एउटा कारण त्यस व्यक्तिको काम नगरेमा उसको दैनिकी रोकिन्छ, उसलाई हानी हुन्छ – यो भनेको त्रास हो । अर्को भनेको यसको यो काम गरिदिए भने भोलि मलाई यसले पनि परेको ठाउँमा सहयोग गर्ला भन्ने आश हुन्छ । यसै आशामा रहेर उसले काम गरिरहेको हुन्छ र भविश्यको बारेमा सोचेर बर्तमानमा दुःख गर्दछ । एउटाले वर्तमानलाई चलाउनको लागि काम गर्दछ भने अर्कोले भविश्यलाई सुरक्षित गर्नको लागि काम गर्दछ ।  
 
यदि महावीरलाई ईश्वर छ त भनेर कसैले सोधे भने, उनको उत्तर हुने छ – हुन सक्छ । पुनः ईश्वर छैन है भनेर कसैले सोध्यो भने पनि उत्तरमा  भन्ने छन् – हुन सक्छ । महाविर, बुद्ध, पतञ्जली आदिले आत्मालाई नै सर्वश्व मानेका छन्, परमात्मातिरको अवधारणा उनीहरुमा छैन । उनीहरुले आपूmले ध्यान  गरेर, आफ्नो अस्मितालाई बचाउने हो, आफ्नो आत्मालाई जान्ने हो । आत्माभन्दा पर केही छैन भन्ने उनीहरुको निष्पत्ती हो ।  
 
जो सक्षम छ, उनीहरुले ईश्वर, परमात्मालाई मानेको पाइदैन, सक्षम को र असक्षम को ? यदि स्वयंदेखि स्वयंसम्मको यात्रा गर्ने हो भने सम्पूर्ण मनुष्य सक्षम नै छन् । जसले स्वयंको यात्रा  गर्न सकेको छैन, ऊ सँग अथाहा नीधि भएर पनि ऊ अरुको दास नै बनेको छ । निसहाय बनेको छ – 
 
“मृग नाभी कस्तुरी मृग ढुडता बनमाही ।
ऐसे घटघट राम हे जानता कोही नाही ।।
 
अब हेरौं, हिन्दू सनातन धर्म र क्रिश्चियन धर्ममा धेरै विषयहरुमा समाञ्जस्य पाइन्छ । जीजस क्राइष्टले जुन धर्मको प्रतिपादन गर्नु भयो, त्यो सेवामुखी छ । उनीहरु अलिकति दयाभन्दा माथि उठेको अवस्था छ, दयाले मानिसलाई नारकीय जीवन विताउन बाध्य बनाउँछ, किनकि त्यहाँ समानताको व्याबहार हुँदैन । दया भनेको दमन नै हो, दया आपूmभन्दा सानो वा कमजोरलाई गरिन्छ । दया भाव सँगसँगै कृश्चियनहरुले सेवालाई विशेष प्रश्रय दिएको कारणले गर्दा उनीहरुको दयाभाव छाँयामा परेको हो । सेवाद्वारा नै क्रिश्चियनहरु किङ्डम अफ गडको अवस्थामा पुगिन्छ भन्ने भ्रममा नै छन् । हुन त सेवा भनेको परमात्मासम्म पुग्ने मजबुत  सिँढी पक्कै हो । 
 
अब विचार गरौं त सेवा कसको गर्ने ? सेवा कि त गरीव कमजोरलाई गरिन्छ, जसद्वारा सेवा गर्ने व्यक्तिले मोक्ष लाभ गर्दछ । अर्को तर्फ सेवा धनी वर्गले आफ्नो घरमा नोकर चाकर राखेर सेवा लिइरहेका हुन्छन्, जसद्वारा शोषण गर्ने शोषकको त गति पक्का छ, उसले नर्कको स्थान बुक गरिसकेको हुन्छ । जसले सेवा गरिरहेका छन्, उनीहरुले त नारकीय जीवन जिएका छन् नै । धनी हुनुका साथसाथै सेवा भाव हुनु जरुरी छ, जुन क्रिश्चियनहरुले गरेका छन् । सेवा गर्नको लागि समाजमा गरीव हुनु जरुरी छ, जातिय छुवाछुत हुनु पनि जरुरी छ । धार्मिक विभेद हुनु पनि जरुरी छ, यदि  यसो भइदिएन भने सेवा कसको गर्ने ? 
 
सेवा भावले गर्दा  समाजमा केही सकारात्मक कार्यहरु त भएका छन्  नै विकासतिर समाज बढ्न भने सकेको छैन । कारण के हो भने माछा मारेर खान दिने काम भएको छ तर माछा मार्ने कला सिकाइएको छैन । विकासको लागि सबै एक जुट हुनु जरुरी छ तर यहाँ के भएको छ भने जो गरीब छन्, उनीहरुमा साहसको कमी छ । जो मध्यम बर्गीय छन्, उनीहरुलाई कामले गर्दा फुर्सद नै छैन र धनीलाई विकासको आवश्यकता नै छैन । त्यसैले आ–आफ्ना डम्फु सबैले बजाएका छन् र निष्कर्षमा भन्दा हिन्दूहरुको लागि मात्रै होइन, कृश्चियनहरुको लागि पनि समाजवाद वाधक नै बनेको  छ । 
सम्बन्धित समाचार