बालबालिकाकाे प्राेफाइल बन्दै

7.9k Shares

संगिता अछामी
वडा सदस्य, १४ नं. वडा

तपाईं दोहोऱ्याएर जनप्रतिनिधि हुनुभएको, कस्तो रह्यो पहिलो कार्यकालको पाँच वर्ष र दोस्रोको अढाई वर्ष गरी साँढे सात वर्षको अनुभव?

यो मेरो दोस्रो कार्यकाल हो। दोस्रो कार्यकालको अढाई वर्ष बितिसकेको छ। अघिल्लो कार्यकालमा म कार्यपालिका सदस्य थिएँ। अघिल्लो कार्यकालमा गर्न नपाएका र गर्न नसकेका काम गरिरहेको छु। सिक्ने क्रम निरन्तर भइरहेको छ। अनुभवले मानिसलाई बलियो बनाउँदो रहेछ। समस्याको समाधान यी हुन्, समस्या समाधान गर्न यो विधि अपनाउनुपर्छ भन्ने कुरा सिकाउँदो रहेछ। मैले साँढे सात वर्षमा सिकेको मुख्य कुरा के हो भने, जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि पक्कै हुन्छ। त्यसैगरी सकारात्मक भएर काम गर्यो भने नतिजा पनि सकारात्मक नै आउने रहेछ। त्यसैले आफूले जे काम गरिरहेको छु, त्यसमा खुशी छु।

यो अढाई वर्षमा वडाको समग्र विकासमा यहाँको योगदान कस्तो रह्यो?

हामी जनप्रतिनिधिको मुख्य जिम्मेवारी अनुगमन, निरीक्षण गर्ने, नीति बनाउने हो। नीति बनाउने काममा, हामीले यो भन्दा अगाडि बनाइसकेका कार्यक्रमहरुलाई नगरसभाले पास गरेर आइरहेका छौँ भने अहिलेको अढाई वर्षको कार्यकालमा हाम्रो वडाबाट मलाई बालबालिकाको क्षेत्रमा काम गर्नको लागि बालअधिकार समितिको संयोजकको जिम्मेवारी दिइएको छ। उक्त समितिमा १३ जना सदस्य छौं। कार्यविधि अनुसार काम गरिरहेका छौँ। वडाले दिएको जिम्मेवारी र क्षेत्र अनुसार हामी काम गर्छौं। कतिपय विषयमा सबैको साथ, सहयोग र समर्थन आवश्यक पर्छ, त्यस्तो बेलामा यो मेरो क्षेत्र हो या विषय होइन मलाई थाहा छैन भनेर बस्दैनौँ। जसरी गरेपनि वडाबासीको हितको लागि काम गर्ने हो। यो विषय हामी सबैले बुझेका छौं।

हाम्रो वडाले विशेषगरी महिला बालबालिका, लक्षित कार्यक्रम तथा पूर्वाधारको क्षेत्रमा यसअघि हुन नसकेको कामलाई पूर्णता दिने गरी काम गरिरहेका छौँ। मेरो आफ्नो जिम्मेवारीको क्षेत्रको कुरा गर्ने हो भने बालबालिकाको तथ्यांक संकलन गर्ने, उनीहरुको अवस्थाबारे बुझ्ने, सचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिरहेका छौं। महिला, बालबालिका र लक्षित वर्गका कार्यक्रमहरूमा हामीले उपलब्धि हासिल गर्ने गरी काम गरेका छौं। बालबालिकाको प्रोफाइल तयार पार्दैछौँ।

महिला लक्षित कार्यक्रमहरूमा यहाँको कस्तो भूमिका रहेको छ?

महिला लक्षित कार्यक्रमहरूको नेतृत्व मैले गरेको छैन। वडा सदस्यको हैसियतले समन्वय र सहकार्य गरिरहेको छु। महिलाको क्षेत्रमा काम गर्नका लागि कार्यविधि बनिसकेको छैन। महिला समिति तथा सञ्जालहरू छन्, तर कार्यविधि नभएकाले महिला लक्षित कार्यक्रमहरू वडाबाट नै सञ्चालन भइरहेका छन्, त्यसमा मेरो पनि सहभागिता छ।

यहाँले बालबालिकाको प्रोफाइल बन्दै गरेको जानकारी दिनुभयो, त्यस प्रोफाइलमा समग्रमा के-के विषयहरू समेटिन्छ?
बालबालिका भनेका राष्ट्रका गौरव हुन् भन्ने भनाइ मात्र नारामा सीमित छ। त्यसलाई पूर्णता दिनको लागि यस वडामा बसोवास गर्ने बालबालिकाहरूको अवस्था के छ, बालबालिकाहरू कति छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन् भन्ने जानकारी वडालाई हुनुपर्छ। कुनै पनि कार्यक्रम सञ्चालनका लागि तथ्यांक आवश्यक पर्छ। तथ्यांक बिना काम गर्दा परिणाम आउँदैन। त्यसैले हामीले बालबालिकाको समग्र अवस्था बुझेर कार्यक्रम ल्याउनका लागि प्रोफाइल तयार गर्न लागेका हौं।

तपाईंले नेतृत्व गर्नुभएको लक्षित वर्ग कार्यक्रम सोचे अनुसार अगाडि बढेको छ भन्ने यहाँलाई लागेको छ?

कामहरू चाँहि समितिबाट नै गरेको हुनाले अघि बढेको जस्तो लाग्छ। तर, अझै धेरै गर्न बाँकी छ।

यहाँको विचारमा कस्तो वातावरण भयो भने काम गर्न सजिलो होला?

बाल अधिकार समितिको कार्यविधि अनुसार, हामी समितिको सदस्य भइसकेपछि हाम्रो आफ्नै डेस्क होस्, कार्यक्षेत्र त हाम्रो वडा नै भइहाल्यो। निरन्तर अनुगमन होस्। अनुगमन गरेपछि सुधार भए नभएको हेर्न छुट्टै संयन्त्रको व्यवस्था भयो भने काम गर्न पनि सजिलो हुन्छ र परिणाम पनि देखिन्छ। जसरी महानगरको अनुगमन समिति छ, वडाको पनि त्यस्तै अनुगमन समिति हुनुपर्छ। वडाले अनुगमन गर्ने कुरामा वडाको कार्यविधि नभएको कारणले वडामा भएका बालगृह, बालसंगठनलाई नियमन गर्न सकिएको छैन। महानगरको कार्यविधि अस्पष्ट छ, त्यसैले अनुगमन प्रभावकारी हुन सकेको छैन।

महानगरको अस्पष्ट कार्यविधिलाई स्पष्ट पार्नमा यहाँहरुको योगदान कस्तो रह्यो?

हामीलाई काम गर्ने क्रममा कार्यविधिको आवश्यकता परेको हो। यो कुरा भएको भए सहज हुन्थ्यो भन्ने कुरा आएको हुनाले हामीले त्यो कुरा अबको नगरसभामा उठाउनेछौँ।

अब बाँकी अढाई वर्ष छ, यो कार्यकालमा बालबालिकाको क्षेत्रमा तपाईं आफ्नो योजना अनुसारको उपलब्धि हासिल गर्न सक्नुहुन्छ?

मैले सोचेको उपलब्धि हासिल गर्न सकिन्छ जस्तो लाग्छ। किनभने, हाम्रो वडामा २ वटा सामुदायिक विद्यालय, २५ वटा संस्थागत विद्यालय छन्। हामीले प्रत्येक स्कूलहरूमा गएर बाल अधिकार समिति र बाल क्लबको बारेमा प्रचारप्रसार गरेका छौं। बालबालिकालाई समुदायसँग जोड्ने काम गरिरहेका छौं। बालबालिकालाई घर र कक्षा कोठामा मात्रै सीमित पार्नु हुँदैन भनेर यो काम गरेका हौं। प्रत्येक महिनाको अन्तिम शनिवार हामी बैठक बस्छौं।

तपाईं जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि भएर आएपछि आफूमा कस्तो परिवर्तन पाउनुभयो?

मानिस सामाजिक प्राणी भएकाले समाजसँग नजिक भएर काम त हामीले गरी नै रहेका हुन्छौं। जनप्रतिनिधि हुनका लागि कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुनुपर्दछ, आम नागरिक र जनप्रतिनिधिमा यो नै महत्वपूर्ण भिन्नता हो। जनप्रतिनिधि हुनुअघि म राष्ट्रिय युवा संघको केन्द्रीय सचिवको जिम्मेवारीमा थिएँ। राजनीतिक दलमा आबद्ध मात्रै हुँदा त त्यति गाह्रो हुँदैन। राजनीतिक दललाई प्रतिनिधित्व गरेर जनप्रतिनिधि हुनु धेरै गाह्रो क्रियाकलाप रहेछ। जनप्रतिनिधि भएपछि पनि राजनीतिक दलको कार्यकर्ता जस्तो मात्रै भएर काम गरिदिए हुन्थ्यो जस्तो अपेक्षा हुन्छ। त्यसैगरी अर्को पक्षले पनि हामीले आफू आबद्ध दललाई मात्रै ध्यान दिएको, चासो राखेको जस्तो धारणाले हेर्नुपर्छ। तर, जनप्रतिनिधि भइसकेपछि हामीले त्यस्तो विभेद गर्नु हुँदैन। यो पद साझा पद हो, हामीले सबैलाई समान व्यवहार गर्नुपर्छ। म अहिले दलित क्लस्टरबाट निर्वाचित भएर वडा सदस्य भएँ। हुन त म वडा अध्यक्षकै लागि पनि सक्षम छु। तर म आबद्ध दलले मलाई सदस्यमा नै उम्मेदवारी दिन निर्देशन दियो। काम गर्दै जाँदा सदस्य पद पनि सानो होइन रहेछ भन्ने लागेको छ। मैले जनताको आवाज सुन्न सक्छु, उहाँहरूको समस्यालाई सम्बोधन गर्न सक्छु। पदीय रुपमा सानो भएपनि जनताको प्रतिनिधि हुँ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु। म उहाँहरूको दुख सुखमा सँगै हुन्छु। त्यसैले उहाँहरूले पनि मलाई राम्रो व्यवहार गर्नुहुन्छ। त्यो मलाई उहाँहरूले गर्नु भएको सम्मान हो। 

वडा नं. १४ लाई कस्तो वडा बनाउने योजना छ?

'सुखी नेपाली, समृद्ध नेपाल' भन्ने नारालाई आधार मानेर 'समृद्ध वडा, उद्यमी वडाबासी' भन्ने अवधारणा अनुसारको वडा बनाउने योजनामा प्रतिबद्ध भएर काम गरिरहेका छौं। वडाबासी बेरोजगार बस्न नपरोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो। आर्थिक रूपमा आत्मनिर्भर भएमा धेरै विषयमा अघि बढ्न सजिलो हुन्छ। ललितपुर महानगरको वडा नं. १४ लाई नमूना वडा बनाउने योजना अनुसार काम गरिरहेका छौं। हाम्रो वडामा भएका कामहरू अरूका लागि अनुकरणीय हुन् र त्यसको सिको अरूले पनि गर्न सकून् भन्ने हाम्रो चाहना हो।

सम्बन्धित समाचार