त्रिवि क्रिकेट रङ्गशालाको नयाँ रूप : खेलाडी र दर्शक उत्साहित

7.3k Shares

काठमाडौ। नेपाली क्रिकेटप्रेमी अहिले दुई कारणले अत्यन्तै खुशी छन् । पहिलो, नेपालले आउँदो वर्ष हुने टी–२० विश्वकपमा खेल्ने भएको छ । दोस्रो त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशालाको स्वरूप पूर्ण रूपमा फेरिएको छ । खेलाडीको प्रगति र उपलब्धीले चर्चा पाइरहेका बेला ‘द होम अफ नेपाली क्रिकेट’ भनेर चिनिने त्रिवि क्रिकेट रङ्गशालाको नयाँ रूपले देशभर उत्साह थपेको छ ।

कतै फ्लडलाइटको चमक, कतै रङ्गीचङ्गी प्यारापिटको आकर्षण, सबैतिर त्रिवि क्रिकेट रङ्गशालाको चर्चा छ । नेपाली क्रिकेटको विकासमा ऐतिहासिक भूमिका खेलेको यो मैदान अहिले नयाँ पहिचानका साथ उदाउँदैछ । दशकौँदेखि लाखौँ क्रिकेटप्रेमीले देख्दै आएको सपना आफ्नै सुविधासम्पन्न रङ्गशालामा बसेर खेल हेर्न पाउने अब पूरा हुने भएको छ ।

रङ्गशालाको बीचमा हरियो मैदान, वरिपरि आकर्षक डिजाइनका पहेँलो, सेतो र रातो–मरुन रङ्गका कुर्सीहरू खण्ड–खण्डमा सजाइएका छन् । परबाट हेर्दा यो दृश्य कुनै रातो कपडामा पहेँलो फूलका पात्रहरू कलात्मक ढङ्गले मिलाएर राखेजस्तो देखिन्छ ।

रङ्गशालालाई चारैतिर घेरेका हरिया अग्ला रुखहरू, रुखहरू पछि कीर्तिपुर बजार, हरिया पहाड र टाढा हिउँले ढाकिएका हिमालहरूको दृश्य एकै ठाउँबाट देखिन्छ त्रिवि क्रिकेट रङ्गशालाबाट । मंसिर १ देखि शुुरु हुने ‘हिमालयको उत्सव’नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु नयाँ प्यारापिटमा बसेर यो सबै दृश्यको अवलोकन गर्दै हेर्दा अझ रमाइलो हुने निश्चित छ ।

यस्तो सुन्दर मैदानमा खेल हेर्न पाउने भएपछि क्रिकेटप्रेमीको खुशी बढेको छ । बाँके कोहलपुरका विद्यार्थी रुद्रराज सञ्जेल भन्नुहुन्छ, ‘पहिले ठाउँ नहुँदा धुलोमै बस्ने, पानी पर्दा छाता ओढेरै नेपालको खेल हेर्यौं । अब भने टिकेट काटेर कुर्सीमै बसेर फ्लडलाइट मुनी खेल हेर्न पाउने भयौँ । यो हाम्रो लागि गर्वको क्षण हो ।’

निर्माणाधीन रङ्गशालामा झन्डै ४५ देखि ५५ मिटर अग्ला छ वटा आधुनिक फ्लडलाइट जडान गर्ने तयारी भइरहेको छ । १० हजार दर्शक अट्ने प्यारापिट तयार भएको छ, र थप दुई हजार दर्शक अरू भीआइपी ठाउँमा बसेर पनि खेल हेर्न सक्नेछन् । अब १२ हजार दर्शक हुटिङ गर्दै मैदान गुञ्जिने क्षण टाढा छैन । वरिपरि ग्राभेलका बाटा, पार्किङ, र अन्य पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेका छन् ।

रङ्गशालाको काम हेर्न आएका तारकेश्वरका सर्वेन्द्र पुन मगर भन्नुहुन्छ, ‘पहिले यस्तो बन्ने विश्वासै थिएन । अहिले हेर्दा गर्व लाग्छ– भुइँमै बसेर खेल हेरेका दिन सम्झँदा नयाँ कुर्सीमा बस्ने मौका नै उपलब्धी जस्तो छ’ उहाँ भन्नुहुन्छ, ‘अब सबै परिवारसहित कुर्सीमै बसेर एनपीएल हेर्न आउनेछौं ।’

त्रिवि रङ्गशालामा अहिले दैनिक दुई सयभन्दा बढी श्रमिकहरू बिहानदेखि साँझसम्म खटिएका छन् । कोही सिमेन्ट र बालु मिसाउँदैछन्, कोही फलामका ढाँचा जोड्दैछन्, कोही भित्तामा रङ्ग लगाउँदै सौन्दर्य थपिरहेका छन् । सबैको अनुहारमा उत्साह झल्किन्छ । पहिले धुलोले ढाकिएको मैदान अहिले चम्किलो उज्यालो र सुन्दर बनेको छ । कलङ्कीका मदनलाल पण्डित, रङ्गशालाको गेट नजिकै इनार खन्दै हुनुहुन्छ, उहाँ देशकै गौरवको काममा हात हाल्न पाउनु गर्वको कुरा रहेको बताउनुहुन्छ । ‘हाम्रो पसिना यहाँ मिसिएको छ । पछि सन्तानलाई भन्न पाउँछौं– हामीले पनि यो रङ्गशाला बनाएका थियौं’ उहाँले गर्वका साथ भन्नुभयो ।

त्रिवि क्रिकेट रङ्गशाला केवल एउटा खेल मैदान होइन–यो राष्ट्रिय पहिचान, सामूहिक सपना र गौरवको प्रतीक हो । दशकौँदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो अस्तित्व खोज्दै आएको नेपाल अब आफ्नै मैदानमा विश्वस्तरको खेल खेल्न लागेको छ । त्यसैले यो केवल खेलको कुरा होइन–देशको आत्मसम्मानसँग जोडिएको विषय हो ।

नेपालले सीमित स्रोत र कठिनाइबीच पनि ठूला सपना साकार गर्न सक्छ भन्ने सन्देश यो रङ्गशालाले विश्वलाई दिनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया भन्नुहुन्छ, ‘नेपालमा यस्तो स्तरको प्रतियोगिता हुँदा नेपालको विश्वसामु छवि अर्बौं रुपैयाँ बराबरको हुनेछ । क्रिकेटले बजार चलायमान बनाउँछ, पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ ।’

जब नेपाल आफ्नै मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्नेछ, त्यो क्षण केवल खेलाडीका लागि होइन–हरेक नेपालीका लागि ऐतिहासिक हुनेछ । त्रिवि मैदानमा नेपालको झण्डा फर्फरिँदा र हजारौँ दर्शकको स्वर गुञ्जिँदा, नेपालको आत्मगौरव र अस्तित्व विश्वसामु झनै उजागर हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बि लामाका भन्नुहुन्छ, ‘त्रिवि क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न भएपछि देशको खेलकुद क्षेत्रमा नयाँ अध्याय खुल्नेछ । यही मैदानमा भविष्यका दिग्गज खेलाडीहरू जन्मिनेछन् र नेपाली क्रिकेटको प्रेम अझै उचाइमा पुग्नेछ ।’

 

सम्बन्धित समाचार