हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

17.5k Shares

मनाङ । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ । 

चिसोले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गथ्र्यो ।  

तर, यसवर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौंतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । 

ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए ।  “हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं”, उनले भने ।  

हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ ।

आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए । 

ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको बताए । पुस १ गतेबाट लागु हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । “मङ्सिर १७÷१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं”, उनले भने ।  

उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन् । उनले भने, “हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।” 

स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उनले बताए । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् । 

नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, “गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।” उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ । 

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताए ।  गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । “कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,” प्रधानाध्यापक कोइराला भन्छन्, “बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुपर्यो ।” 

उनका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिबारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । “तीन महिना जति पढाए पनि परीक्षा भने अर्धवार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौं । नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौं”, उनले भने ।  

उनका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ । मनाङमा जनजीवन कष्टकर बनेको छ । “केही हुन्छ कि भनेर अलि अलि ढिला गर्यौं । तर, साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं भन्ने सोचर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुनसक्ने भएकाले छिटोछिटो परीक्षा गर्यौं, उनले भने । 

चामे गाउँपालिका शिक्षा तथा खेलकुद शाखा संयोजक इन्द्रजङग गुरुङका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ । पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए । “हिमपातले असर गरेन भने माघ १६ गतेबाटै खुला गर्छौं । हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेबाट जसरी पनि विद्यालय खुलाउनु पर्ने हुन्छ”, उनले भने । 

नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेबाट हुने बताए । उनले भने, “जाडो बिदा खासगरी ११ गतेबाट हुन्छ । स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं ।” उनका अनुसार फागुन १ गतेबाट पठनपाठन सुरु हुनेछ । अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको उनले बताए ।  रासस

सम्बन्धित समाचार