बाह्रमासे अखडामा प्रहरी सेटिङ

7.2k Shares

भरतपुर । सुन्दा पनि अचम्म लाग्छ, पढ्दा पनि। तर पनि सत्य आखिर सत्य नै हुन्छ। जेनजी आन्दोलनमा सबैभन्दा बढी प्रहरीलाई र प्रहरी कार्यालयलाई आन्दोलनकारीले तारो बनाएको देखियो। यसको पछाडि एउटा कारण अवश्य पनि के हो भने कतिपय अवस्थामा प्रहरीले आफ्नो दुश्मन साध्न वा गलत नियत राखेर निरपराध वा सामान्य गल्ती गरेकालाई पनि हतियार, लागूऔषध जस्ता कुराबाट फसाई दिने गरेका छन्। यस्ता उदाहरण त कयौं छन्। कतिपय विरोधीलाई आफू चर्चित हुन र काम देखाउने नाममा इन–काउन्टर गरेर पनि मारे। त्यसैले पनि अब प्रहरीले आफ्नो आचरण, कार्यशैली र व्यवहारमा परिवर्तन गर्न जरुरी छ भन्ने आवाज सर्वत्र उठिरहेको छ।

यति चर्चा परिचर्चा भैरहेको अवस्थामा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १२ मा भने प्रहरीको संरक्षणमा बाह्रै महिना ठूलो जुवा अखडा संचालन भैरहेको छ। वडा नम्बर १२ जिरौना भन्ने स्थानमा अजित नामका व्यक्तिले ३६५ दिन नै जुवा अखडा संचालन गर्दै आइरहेका छन्। उनको पेशा नै जुवा खेलाउने हो। स्थानीय एक छिमेकीका अनुसार अजितले दिउँसो २÷३ घण्टा तास र त्यसपछि कौडा नै खेलाउने गर्दै आइरहेका छन्। सो जुवा अखडा राति ३÷४ बजेसम्म चल्ने गर्दछ। उक्त जुवा अखडामा दैनिक लाखौंको हारजित हुने गर्दछ।

स्थानीयले उक्त जुवा अखडाको बारेमा इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपीलाई जानकारी समेत गराएको बताउँछन्। उनीहरूले भनेअनुसार हालका डिएसपी सुभाष भट्टलाई मात्रै होइन, यसअघिका धेरै डिएसपीलाई जानकारी गराए पनि कुनै डिएसपीले अजितको जुवा अखडामा छापा हान्ने काम गरेनन्। बरु, डिएसपीले परिचालन गरेका घुमुवा हवल्दार गणेश थपलिया जुवा अखडामा आइरहेको देखिने स्थानीय बताउँछन्। यी घुमुवा हवल्दार थपलिया इप्रका रत्ननगरका डिएसपीका घुमुवा भएर आर्थिक कारोबार गर्ने गरेको पनि झण्डै आठ वर्ष भैसकेको छ। अर्थात, उनी विगत ७/८ वर्षदेखि यहाँ घुमुवा रहेको बताइएको छ। त्यसौ त उनी जुटपानी, शक्तिखोर जहाँ काठ तस्करी र नदीजन्य सामग्रीको अवैध उत्खनन हुन्छ, त्यस क्षेत्रमा पनि घुमेर कारोबारहरूलाई भेटिरहेका देखिन्छन्।

डिएसपी सुभाष भट्ट इप्रका रत्ननगर आउनु पूर्व जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए। उनी प्रहरी निरीक्षक हुँदा इप्रका खैरहनीको प्रमुख थिए भने पछि जिल्ला प्रहरी कार्यालयमा पनि सिभिल टोलीको प्रमुख भएर बसेका थिए। उनलाई चितवनको अपराधिक सञ्जालदेखि अन्य धेरै जानकारी छ नै। तर पनि आफ्नै क्षेत्रमा रहेको जुवा अखडा किन रोक्न चाहेनन् वा उनले नै संरक्षण गरेका हुन्? प्रश्न उठ्नु स्वाभाविकै हो।

सम्बन्धित समाचार