वाशुलिङ (बैतडी) । आगामी प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गर्दै बैतडीमा पछिल्लो समय ४ सय ७ जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले यही असोज ९ गतेदेखि कात्तिक २८ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने सूचना जारी गरेपछि जिल्लाभर नयाँ मतदाता दर्तामा उत्साहजनक सहभागिता देखिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।
जोशीका अनुसार एकै दिनमा ४५ जनासम्मले नाम दर्ता गराउने गरेका छन् । उहाँले भन्नुभयो, "नाम दर्ता गराउनेमा १६ र १७ वर्ष उमेरका किशोर–किशोरीहरूको संख्या बढी देखिएको छ । निर्वाचन कार्यालयका तथ्याङ्क अनुसार हाल जिल्लामा कुल मतदाता संख्या एक लाख ५४ हजार १६८ पुगेको छ ।"
जसमा महिला मतदाता ७६ हजार ९ सय ९८ जना र पुरुष मतदाता ७७ हजार ३८० जना रहेका छन् । गएको प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा एक लाख ५० हजार १५६ मतदाता दर्ता भएका थिए । तीमध्ये ७८ हजार ३६९ मत प्रयोग भएको कार्यालयले जनाएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा यस पटक मतदाताको संख्या अझ वृद्धि हुने अनुमान गरिएको जोशीले बताउनुभयो । बैतडीमा हाल एक सङ्घीय निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र कायम छन्। त्यस्तै जिल्लामा १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् ।
२०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ४२ हजार १५७ रहेको छ । जसमा पुरुष एक लाख १३ हजार ८६४ र महिला एक लाख २८ हजार २९३ जना रहेका छन ।