श्रीलंकाविरुद्ध नेपालको परीक्षा

16.6k Shares

काठमाडौं । अनपेक्षित नतिजा निकाल्ने लक्ष्य साथ युनाइटेड अरब इमिरेट्स (यूएई) गएको नेपाली युवा टोलीले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अर्को टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध खेल्दैछ । 

श्रीलंका यस प्रतियोगितामा चार पटक फाइनल खेलिसकेको टोली हो । तथापि, श्रीलंकाले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपालले २०१७ मा प्रतियोगिताको सेमिफाइनल खेलेको थियो । त्यतिबेला नेपालले सबभन्दा धेरै उपाधि जितेको भारतलाई १९ रनले हराएको थियो । 

यसपटक पनि नेपाल त्यस्तै आश्चर्यचकित नतिजा निकाल्ने लक्ष्य लिएर यूएई गएको थियो । तथापि, नेपालको तयारी भने आफ्नो लक्ष्य जस्तो राम्रो थिएन । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट छनोट गरिएका खेलाडीले दुई साताभन्दा कम बन्द प्रशिक्षण गरेका थिए । राष्ट्रिय टोलीसँग खेल्ने भनेको अभ्यास खेल खेल्ने भनिएको थियो । तर, नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीका खेलाडीबीचको द्वन्द्वले सम्भव भएन । त्यसकारण नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग अभ्यास खेल खेल्नु परेको थियो । 

ठीक विपरित श्रीलंकाको तयारी भने राम्रो छ । केही महिनाअघि श्रीलंकाली युवा टोली यू–१९ विश्वकप विजेता बंगलादेश र इङ्ल्यान्डलाई हराएको थियो । श्रीलंकन टोलीमा अलराउन्डर डुनिथ वेलालागे, चामिन्डु विक्रमासिंहे, मथीशा पथिराना, रबीन डी सिल्भा र यासिरु रोडीगो जस्ता खेलाडी छन् । जोसँग यू–१९ विश्वकप खेलेको अनुभव छ । 

श्रीलंकाले पहिलो खेलमा कुवेतलाई २७४ रनले हराएको थियो । नेपाल भने बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । बंगलादेशविरुद्ध ब्याटिङमा मध्यम प्रदर्शन गरे पनि बलिङ पक्ष कमजोर देखिएको थियो । 

पछिल्लो संस्करणमा पनि नेपाल र श्रीलंका एउटै समूहमा परेका थिए । वर्षाले प्रभावित समूहको पहिलो खेलमा श्रीलंकाले नेपाललाई ‘डक वर्थ लुइस’ पद्धतीका आधरमा पाँच विकेटले हराएको थियो । २०१६ मा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको थियो ।

सम्बन्धित समाचार