परासी । पश्चिम नवलपरासीको बसैया नाकाबाट केही सातादेखि ठूलो मात्रामा खुलेयाम तस्करी भैरहेको छ । पश्चिम नवलपरासीका नाकाहरूबाट व्यापक तस्करी भैरहेको समाचारहरू प्रकाशित भैरहेको र तस्करीका सूचना आएपछि काठमाडौबाट केही संचारकर्मीहरू यहाँ आएका थिए । त्यसक्रममा प्रत्यक्ष स्थलगत अनुगमन गर्ने क्रममा पनि देखियो कि रातको समयमा प्रहरीको संरक्षण र सेटिङमा ठूलो तस्करी हुने रहेछ ।
समाचार संकलनका लागि काठमाडौंबाट केही संचारकर्मीहरू आएको कुरा तस्करका केही एजेन्टले स्थानीय थाना चौकीका प्रहरीदेखि कारोवारीहरूलाई भनिदिएको उक्त दिन कुनै तस्करी नभएको समेत हामीलाई स्थानीयले बासिन्दाले जानकारी गराए । भोलिपल्ट उक्त संचारकर्मीको टोली अन्यत्र जाने हल्ला गरेर पुनः पश्चिम नवलपरासीका नाकाहरूमा राति निगरानी गर्न जानेक्रममा थाहा भयो कि परासीका पूर्वी क्षेत्रका नाकाहरूबाट खुलेयाम तस्करी चलिरहेको रहेछ । बसैया र गणेशपुर नाकाबाट अहिले व्यापक तस्करी भैरहेको पाइयो । बढी मात्रामा मकै र चामलको ठूलो तस्करी भैरहेको रहेछ । मकै नेपालबाट भारत तर्फ तस्करी हुने रहेछ भने स्टिम चामल भारतबाट नेपालमा तस्करी हुने रहेछ ।
यो तस्करी धन्दामा गोरख बनियां र दिलिप मिश्र एवं बिशाल र जैसवाल थरका गरी चार व्यापारी संलग्न रहेको समेत स्थानीयले जानकारी दिए । गोरख र दिलिप साझेदार रहेछन् भने बिशाल र जैसवाल अर्को साझेदार । यी कारोवारीहरूले ७ वटा पिकअपमार्फत यो कारोवार गरिरहेका रहेछन् । गोरख समूहको ३ र बिशाल समूहको ४ वटा पिकअप भएको पनि स्थानीयले जानकारी दिए । यी पिकअपहरूबाट उनीहरूले दैनिक ३ देखि ४ पटकसम्म तस्करी धन्दा चलाउने गरेको पनि जानकारी स्थलगत रिपोर्टिङमा जानकारी भयो । तस्करी कार्यमा सहयोग गरेवापत बसैया प्रहरी चौकीका सईलाई मासिक ५० हजार, इप्रका वेलाटारीका प्रमुखलाई १ लाख र सशस्त्र प्रहरीलाई १ लाख दिने गरेको समेत जानकारी भयो । अहिले बसैया प्रहरी चौकीमा सई मिठु थापा, वेलाटारी इप्रकामा प्रहरी निरीक्षक श्यामप्रकाश यादव र सशस्त्रको बिओपीमा निरीक्षक बिजय डांगी रहेका छन् । यसरी झुक्याएर रातिदेखि रिपोर्टिङ गर्नेक्रममा थाहा लाग्यो कि यहाँका नाकाहरूबाट सुरक्षाकर्मीहरूको सेटिङ र संरक्षणमा ठूलो तस्करी भैरहेको रहेछ ।