नारायण लिङ्लेखु
विदेश जाने युवाहरूको इच्छा र प्रवृत्ति तीव्र छ। युवा पुस्ता पढ्नका लागि विदेश जाने गर्दछन्, र रोजगारका लागि पनि विदेशिनेहरू छन्। नेपालका गाउँहरू अहिले प्रायः सुनसान देखिन्छन्, धेरै जमिन बाँझो छन्। मकै, कोदो, सिमी, भटमास, सागसब्जीले ढाकिने हरियाली बारीहरू प्रायः खाली देखिन्छन्। धान र गहुँ उम्रिने खेतहरूमा जंगली झार र बोटबिरुवा बढेका छन्। महोत्सव, मेला र पर्वहरूमा पहिले जस्तो चहलपहल र रौनक अब छैन। ती घरहरू जहाँ पहिले चहलपहल हुन्थ्यो, रमाइलो हुन्थ्यो; आमाबाबु, छोराछोरी, नातिनातिनाको हाँसो गुञ्जिन्थ्यो – अहिले त्यहाँको वातावरण सुनसान छ। कारण एउटै हो - देशका युवाहरू विदेशिएका छन्।
नेपालमा हरेक वर्ष ७-८ लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशिन्छन्। पढ्न मात्र भनेर हरेक वर्ष लाखौं विद्यार्थी अष्ट्रेलिया, क्यानाडा, अमेरिका, युरोप लगायतका देशहरूतर्फ जान्छन्। रोजगारीका लागि विदेशिने युवामध्ये करिब ८० प्रतिशत खाडी मुलुक र मलेसिया जान्छन्। बाँकी युरोपेली मुलुक, इजरायल, कोरिया, जापानजस्ता मुलुकमा जान्छन्। हाल विदेशमा रहेका नेपालीको संख्या करिब ६० लाख होला। पढ्न भनेर जाने पनि आखिर त्यहीँ काम गर्न थाल्छन्। अरू लाखौंको संख्यामा भारततर्फ जानेहरू छन् जसको कुनै लेखाजोखा छैन। वैदेशिक रोजगारीको यस स्थितिले देशका हजारौं घरहरूमा सन्नाटा छाएको छ। गाउँमा गाडी गुड्ने सडक पुगेको छ, नयाँ घर बनेका छन्; तर ती सडक र घरहरू एकान्त र शान्त अवस्थामा देखिन्छन्। शान्त गाउँहरूमा मौन पीडा छाएको छ।
नेपालमा ६० प्रतिशतभन्दा बढी घरधुरी एकल परिवारमा परिणत भएका छन्। संयुक्त परिवारमा बस्नेहरूको संख्या घट्दो छ। ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको जनसंख्या करिब १२ लाख होला। त्यसमध्ये एकतिहाइ अर्थात करिब ४ लाख वृद्धवृद्धाका सन्तान वैदेशिक रोजगारी वा पढाइको सिलसिलामा देशबाहिर होलान्। ती वृद्धवृद्धाले घरमा एक्लै बाँच्न परिरहेको छ। वृद्धहरुका साथमा कतिपयको अर्को बृद्ध जीवनसाथी र कतिपयको नाति-नातिनामात्र हुन्छन्। जीवनसाथी गुमाएका महिला वृद्धहरुको संख्या पुरुष वृद्धहरुको तुलनामा तीन गुणाभन्दा बढी देखिन्छ। हेरचाह र सहयोग गर्नसक्ने छोराछोरी धेरै टाढा हुन्छन्। ती छोरा छोरीका आवाज फोनकलमा सीमित हुन्छ; उनीहरुको उपस्थिति डिजिटल तस्बिरमा मात्र रहन्छ। वैदेशिक रोजगारीलाई आर्थिक दृष्टिकोणबाट हर्दा फाइदा देखिन्छ।
विदेशमा काम गर्नेले पठाएको पैसाले परिवार चल्छ, परिवारको आर्थिक अवस्था सुधार्छ। विदेशमा काम गर्दा प्राप्त हुने सीप र अनुभवले स्वदेशमा नयाँ काम गर्न सहयोग पुग्छ । वैदेशिक रोजगारीका कारण देशमा वर्षेनी अरबौं रुपैयाँ रेमिटेन्सको रूपमा भित्रिन्छ । देशको अर्थतन्त्रको एक मुख्य आधार रेमिटेन्स बनेको छ। तर, वैदेशिक रोजगारीमा जाने अहिलेको यो प्रवृत्तिले समाजमा एउटा गहिरो भावनात्मक खाडल सिर्जना गरेको छ। पैसाले दिने आर्थिक फाइदाको मूल्य ती वृद्धवृद्धाले सामाजिक साथ सहयोग, भावनात्मक समर्थन र दैनिक हेरचाहको अभाव झेलेर चुकाउनु परिरहेको छ । गाउँ बस्ती अहिले एक्लोपन र शून्यताको मार्मिक दृश्य बनेको छ ।
वैदेशिक रोजगारीलाई अब समाजशास्त्रीय दृष्टिकोणबाट पनि बुझ्न आवश्यक छ । समाजशास्त्रीय दृष्टिकोणबाट बुझ्नु भन्नुको अर्थ वैदेशिक रोजगारीलाई केवल आर्थिक उपार्जन वा बेरोजगारी समस्याको समाधानका रूपमा मात्र सीमित राखेर हेर्ने होइन । यसबाट समाज, परिवार, संस्कार, सम्बन्ध र जीवनशैलीमा के प्रभाव परिरहेको छ त्यो पनि बुझ्नपर्ने हुन्छ । त्यो पुस्ता जो आत्मिक समाजमा हुर्कियो, जहाँ बहु-पुस्ता परिवारको प्रचलन थियो, त्यो पुस्ताका लागि वैदेशिक रोजगारीको आजको परिवेश एक्लोपनको कारक बन्न पुगेको देखिन्छ। बुढो शरीरले धान्न नसक्ने घरका काम; स्वास्थ्य समस्यामा पारिवारिक सहयोगको अभाव; खाने लाउने जस्ता व्यक्तिगत हेरचाहमा साथ र सहयोगको चिन्ता र भावनाको भलाकुसारी गर्ने साथीको अभाव अनि एक्लाएको समस्या देखिन्छ । यो समस्या केवल एक्लोपनको समस्या मात्र होइन। सामाजिक मान-सम्मान र साथ-सहयोगको संस्कार खस्किरहेको हाम्रो समाजको नयाँ परिवेश पनि हो । जति जति युवा बाहिर जान्छन्, वृद्धहरुलाई साथ र सहयोग गर्ने परम्परा र परिपाटी त्यति-त्यति कमजोर हुँदै गएको देखिन्छ ।
शहरी परिवेश अझ योभन्दा अप्ठेरो देखिन्छ। गाउँघरमा जस्तो आपसी सहयोग र सामुदायिक भावना शहरमा कम पाइन्छ। शहरमा छरछिमेकसँगको सम्बन्ध सतही मात्र हुन्छ; सामाजिक सम्बन्धको अभाव महसुस हुन्छ। वृद्धवृद्धाका लागि शहरी दिनचर्या भनेको टिभि हेर्नु, मोबाइल चलाउनु, भित्र र बाहिर वा वल्लो र पल्लो कोठा गर्नु हो। सरकारले वृद्धभत्ता, सामाजिक सुरक्षा योजना, निःशुल्क स्वास्थ्य बीमा जस्ता कार्यक्रमहरू ल्याएको छ। तर ती पर्याप्त छैनन्। छरछिमेक भेला हुने, भलाकुसारी गर्ने, मनोरञ्जन गर्ने, एक्लोपन हटाउन साथी र सङ्गत अनुभूत हुने सामाजिक वातावरणको अभाव देखिन्छ।
वैदेशिक रोजगारी नभएका परिवारमा पनि वयस्क छोराछोरी काममा जाने, बालबालिका स्कुल जाने भएकाले दिनभर वृद्धवृद्धा घरमा एक्लो हुन्छन्। यो सन्दर्भमा धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङको जेष्ठ नागरिक मनोरञ्जन पार्कको अवधारणा मननीय देखिन्छ। जेष्ठ नागरिकलाई घर-घरमा गएर गाडीले पिकअप गर्ने, मनोरञ्जन पार्कमा पुर्याउने; निःशुल्क चिया, कफी, बिस्किट्सको व्यवस्था गर्ने; पार्कमा नर्स वा स्वास्थ्य कार्यकर्ताको व्यवस्था गर्ने; जेष्ठ नागरिकले खेल्नसक्ने खेल तथा मनोरञ्जनका कार्यक्रमहरू गर्ने; दिन ढल्केपछि पुनः घर-घर पुर्याउने। यस्तो व्यवस्था भएपछि जेष्ठ नागरिकको जीवन पनि रमाइलो भयो, घरका परिवारलाई पनि 'ढुक्क भयो।
जेष्ठ नागरिकहरूको अवस्थाप्रति संवेदनशील भएर सरकारले अरु केही गर्न चाहेमा स्थानीय स्तरमा जेष्ठ नागरिक सहयोग केन्द्र स्थापना गरेर त्यसमार्फत सहयोग प्रदान गर्नसक्छ। सहयोग केन्द्र स्थापना गर्नका निम्ति निःशुल्क फोन नम्बर, कर्मचारी तथा स्वयंसेवक, भौतिक एवं प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने हो। प्रहरी, अस्पताल, एम्बुलेन्स, सरकारी गैरसरकारी संस्थाहरूबीच नेटवर्किंग गरी जेष्ठ नागरिकलाई आवश्यक सहयोग प्रदान गर्न सकिन्छ। सहयोग केन्द्र स्थापना गर्नका लागि निःशुल्क फोन नम्बर, कर्मचारी तथा स्वयंसेवक, भौतिक एवं प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने हो। प्रहरी, अस्पताल, एम्बुलेन्स, सरकारी तथा गैरसरकारी संस्थाहरूबीच नेटवर्क व्यवस्थापन गर्ने हो। यसरी वृद्धवृद्धालाई स्वास्थ्य सम्बन्धी परामर्श, मनोवैज्ञानिक सहयोग, आवश्यकताअनुसार कानुनी सल्लाह, प्रहरी सेवा वा एम्बुलेन्स जस्ता आपत्कालीन सेवा सहयोग पुर्याउन सकिन्छ। एक्लोपनमा बाँचिरहेका वृद्धवृद्धालाई सहयोग दिन सके उनका व्यथा धेरै न्यूनीकरण हुने सम्भावना हुन्छ।