जीवनका उत्तरार्द्वामा गरिने पुजाहरु

7.4k Shares

प्रा. डा. नोबेल किशोर राई

बालककालमा अज्ञानतावश अनि युवा अवस्थामा अहंकारले अधिकांश मानिसहरू ईश्वरीय सत्तामा विश्वास राख्दैनन् तर प्रौढ अवस्थामा पदार्पण गरेपछि तिनै व्यक्तिहरु विस्तारै आध्यात्मिक बन्न पुग्छन्। हाम्रो पूर्वीय समाजमा अधिकांश व्यक्तिहरु यसरी ईश्वरको पूजा-अर्चनामा आफ्नो प्रौढ र बृद्धावस्था व्यतित गरिरहेका हुन्छन्। जीवनका उत्तरार्द्धमा गरिने केही पूजाका विषयमा सामान्य चर्चा गर्ने उद्देश्यले यो छोटो लेखन आरम्भ हुन्छ।
नेपालका धेरैजसो हिन्दुहरूले जीवनकालमा “चौरासी पूजा" गर्दछन् जो आफ्नो दीर्घ वर्षे पुगेपछि सम्पन्न गरिन्छ। यो पूजाको नाम र उद्देश्य अलि फरक छ जो निम्न प्रकारले दफा ३ मा उल्लेख गरिन्छ। विविध पूजाका नाम र उद्देश्य यस्ता छन्।

१. उग्रतारा-
यो पूजा ६० वर्षको उमेरमा गरिन्छ र प्रायः भारतमा मात्र यो प्रचलन छ।

२. भीमरथारोहण-
यो पूजा ७७ वर्ष ७ महिना ७ दिन पुगेका बखत गरिन्छ। यसको अर्को नाम “भुलक्कड भीमरथी" पनि भनिन्छ। यो प्रचलन नेपालमा नेवार जातिमा निकै चल्ती रहेको पाइन्छ। उमेरको कारणबाट धेरै कुरा बिर्सने अवस्था भएकाले यो उमेरलाई “भुलक्कड भीमरथी" भनिएको हुन सक्छ।

३. सहस्र चन्द्र दर्शन-
यो अनुष्ठान सम्बन्धित व्यक्तिको उमेर ८४ वर्ष पुगेको समयमा गर्ने गरिन्छ। नेपाल र भारतमा धेरैजसोले मनाउने यो उत्सवलाई "चौरासी पूजा" भनेर चिनिन्छ। एक महिनामा शुक्ल पक्षमा नयाँ चन्द्रमाको दर्शन हुने हुनाले चन्द्र दर्शन भनिएको हो। त्यसरी नै चौरासी वर्षभित्र हजार नयाँ चन्द्रमाको दर्शन हुने भएकाले यो पूजाको चल्ती नाम “चौरासी पूजा” रहन गएको हो । यसरी आफ्नो दीर्घ जीवनमा हजार नयाँ चन्द्रमाको दर्शन गर्ने व्यक्ति मनुष्यबाट देवत्व प्राप्त गर्ने विश्वासले गर्दा यस्ता दीर्घजीवि वरिष्ठ नागरिकलाई दर्शन गर्ने, पूजा-अर्चना गर्ने र शुभाशीर्वाद माग्ने गरिएको हो। अंक गणितको हिसाबले त्रियासी वर्ष र चार महिनामा नै हजार नयाँ चन्द्रमाको दर्शन हुन्छ। त्यसैले कतिपय व्यक्तिहरु ८१ वर्षदेखि नै यो अनुष्ठान सम्पन्न गर्ने पनि गर्दछन् ।

कतिपय जेष्ठ नागरिक यो पूजा गराउन ईच्छा राख्दैनन् । किनभने यसो गरिएपछि आफ्नो मृत्यु चाँडै हुनसक्ने डर पनि रहेको पाईन्छ । यसैले यो “चौरासी पूजा" का निम्ति सम्बन्धित व्यक्तिको ईच्छा बुझ्ने पनि गरिन्छ । फेरि कतिपयले आफू मनुष्य चोलाबाट माथि उठेर देवत्व प्राप्त गरेकाले आफ्ना नातागोतालाई आशिर्वाद दिने असल-असल कामकुरो मात्र गर्ने गरेको उदाहरणहरु पनि छन् । जे भए पनि मनुष्य जीवनमा यो एउटा खुशीको उत्सव हो जो सबैले सजिलैसँग प्राप्त गर्न सक्दैनन् ।

४. महारथारोहण-
यो पूजा ८८ वर्ष आठ महिना आठ दिनमा गर्ने गरिन्छ । यसमा मुख्य रुपमा विष्णुको पूजा गरिन्छ । हिन्दुहरुमा विष्णु रक्षक भएका र मनुष्यहरुको रक्षार्थ अनेक कालखण्डमा विभिन्न अवतार लिने भएकाले उनको पूजा-अर्चना विशेष ठानिएको हो ।

५. देवरथारोहण-
यो पूजा ९९ वर्ष ९ महिना ९ दिनमा सम्पन्न हुन्छ । यो अनुष्ठानमा रुद्रको उपासना-आराधना गर्ने गरिन्छ। रुद्रका अनेक नामहरु भएको र सबै देवताहरुका पनि देवता मानिएकाले महादेव पनि भन्ने गरिन्छ । आफ्ना भक्तजनलाई जस्तै पीर, कष्ट र खतराबाट मुक्त गर्ने र चाँडै खुशी हुने देवताका रुपमा पूजा गर्ने गरिन्छ ।

६. महादेवः रथारोहण-
यो अनुष्ठान सम्बन्धित व्यक्तिको उमेर ११० वर्ष १० महिना १० दिन पुगेको सुखद अवसरमा सम्पन्न हुन्छ। मनुष्य जीवनको यति दीर्घ जीवन अत्यन्त कमैले भोग्ने अवसर प्राप्त गरेकाले यो उत्सव साह्रै महत्वपूर्ण मानिन्छ। यसको नाम अनुसार यस बखतमा महादेवको पूजा हुन्छ र देवत्व प्राप्तिको मार्ग ठानिन्छ।

यी माथि वर्णन भएका पूजाविधि नेपालमा अधिकांश नेवार समुदायमा सम्पन्न गरिएको हुने गरेको पाइन्छ। यी अनुष्ठानहरुमा “रथारोहण" भनेर रथको उल्लेख भए अनुसार सम्बन्धित व्यक्तिलाई रथमा राखेर घुमाउने प्रचलन भएता पनि आजभोलिको अव्यवस्थित शहरीकरणको चापले प्रायः सबैले घरभित्रै यो कर्म सम्पन्न गर्ने गरेको पाइन्छ। भन्ने नै हो भने यी कर्महरुमा सम्बन्धित व्यक्तिका नाती-पनातीहरुले बोकेर रथारोहण गराउने र घर फर्कदा ढोकाबाट नभएर झ्याल फुटाएर घर भित्राउने पुरानो प्रचलन थियो। पितृको पूजा गर्ने हाम्रो समाजमा ज्यूँदो पूर्खाको अर्चना-वन्दना गर्न पाउनु सम्बन्धित नाती-पनातीको अहोभाग्य पनि त हो।
नेवार समुदायमा यसलाई “बुढो जंकु" पनि भन्ने चलन छ। जंकु भन्नाले अन्नप्राशन बुझिन्छ तर यो भने “बुढो” विशेषण जोडिएको अवस्था हो।

सम्बन्धित समाचार