निर्यात व्यापारमा भारतसँगको परनिर्भरता कति जोखिम ?

7.1k Shares

काठमाडौं– नेपालको वैदेशिक व्यापारमा वर्षौंदेखि सबैभन्दा धेरै हिस्सा भारतसँग हुने गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा भारतीय हिस्सा झण्डै ५९ प्रतिशत छ । गत असोजसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको आयात र ७२ अर्ब ७८ करोडको निर्यात भएकामा ५८.९७ प्रतिशत हिस्सा भारतसँग रहेको हो ।

वैदेशिक व्यापारको यस्तो तथ्यांक एकाध वर्षको मात्र होइन, वर्षौंदेखि झण्डै दुई तिहाइ हिस्सा भारतसँग मात्र हुँदै आएको छ । नेपालको वैदेशिक व्यापार १३८ भन्दा धेरै मुलुकसँग हुँदा झण्डै दुई तिहाइको भारतीय निर्भरताले जोखिम निम्त्याएको व्यापार विज्ञहरुको भनाइ छ ।

कुल वैदेशिक व्यापारमध्ये आयात र निर्यात दुवैमा भारतीय हिस्सा धेरै भए पनि हाम्रो जोखिम आयात भन्दा निर्यातमा हो । हामीलाई आवश्यक वस्तु भारतबाहेक तेस्रो मुलुकबाट पनि सहजै आयात गर्न सक्ने अवस्था छ । जोखिम हाम्रो निर्यात व्यापारमा मात्र हो । केही समयपछि अति कम विकसितबाट विकासशीलमा स्तरोन्नति हुँदा नेपालले संसारका धेरै मुलुकबाट पाइरहेको सुविधा कटौती हुनेछ । सुविधा हटेपछि नेपालको निर्यात व्यापारमा यसले ठूलो धक्का लगाउने छ । मुलुकको स्तरोन्नत्ति भए पनि नेपाल र भारतबीचमा भएका विभिन्न द्विपक्षीय सन्धि सम्झौताका कारण भारतले दिँदै आएको सुविधामा कटौती हुने छैन । यस्तोमा नेपालको निर्यात झनै भारत निर्भर बन्ने जोखिम हुनेछ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा पनि आगामी दिनमा नेपालको वैदेशिक व्यापारमा भारतीय निर्भरता झनै बढ्ने बताउँछन् । ‘दुई ठूला अर्थतन्त्रका बीचमा रहनु नेपालका लागि सम्भावना हो । यद्यपि, हामीले हालसम्म त्यो फाइदा उठाउन सकेनौं,’ उनी भन्छन्, ‘भविष्यमा भारतले गैरभन्सार अवरोधहरु सिर्जना गरेमा एउटै देशमा निर्भर भएको विडम्बना देखिने छ । त्यसैले व्यापार कूटनीति अब्बल गर्न सम्बन्धित कूटनीतिक नियोगहरुले यसमा ध्यान दिनु जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालका अनुसार सामान्य अवस्थामा भारत निर्भर वैदेशिक व्यापारले फरक पर्दैन । भारतमा धेरै नगदे बाली निर्यात हुने र भारतीय पक्षबाट समय–समयमा गैरभन्सार अवरोध आउँदा भने चिन्ता थप्ने गरेको छ । भारतले विभिन्न बहाना गरेर कृषिजन्य वस्तुको निर्यातमा बेला–बेला अवरोध गर्दै आएको छ । चिया, अलैंची, कुचो, अदुवाजस्ता वस्तु निकासीमा पनि भारतले समस्या खडा गर्ने गर्छ । गत वर्षदेखि जिएसआई प्रमाणपत्रलाई अनिवार्य गरेपछि नेपालका केही उद्योगहरुले आफ्ना उत्पादन निकासी गर्न सकेका छैनन् । भारतीय अवरोधकै कारण यो वर्ष फलामजन्य वस्तुको निकासी उच्च दरले घटेको छ । प्लाइउड, सिमेन्ट जस्ता वस्तु निकासीमा पनि भारतले अवरोध गर्दै आएको छ ।

भारतीय अवरोधका कारण भारतमा मात्र निकासी हुने फलाम तथा तिनका उत्पादनको निर्यातमा ७० प्रतिशतले ह्रास आएको छ । यस्तै, प्लाइउडको निर्यात ६४.१४ प्रतिशत घटेको छ । यो असोजसम्म नेपालको कुल निर्यात ७२ अर्ब ७८ करोड पुग्दा भारतमा मात्र ५९ अर्ब १३ करोडका सामान निकासी गरिएको छ । यो कुल निकासीको ८१.२४ प्रतिशत हो । हामीले भारत बाहेक तेस्रो मुलुकमा धेरै वस्तु बेच्न सकेको अवस्था छैन । त्यसमा पनि मुलुक स्तरोन्नति भएबाट अहिले पाएका सुविधा गुम्दा तेस्रो मुलुकतर्फको निकासी झनै कम हुनेछ ।

यस्तोमा व्यापारिक विषयमा भारतसँग स–साना विवाद भए पनि हाम्रो निकासी व्यापारमा ठूलो धक्का लाग्ने जोखिम छ । ‘हामीले हाम्रा उत्पादनलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउन सकेको अवस्था छैन । कुनै कम्पनीले एकै पटक ठूलो मात्रामा अर्डर गरे दिन सक्ने क्षमता छैन । यस्तो अवस्थामा बाध्यताका कारण पनि व्यापार भारततर्फ निर्भर भएको हो,’ उपाध्यक्ष ढकालले कारोबारसँग भने, ‘भारत बाहेक निर्यात व्यापारलाई विविधिकरण गर्ने हो भने विभिन्न देशमा रहेका दूतावास तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत सरोकारवाला पक्षले यसमा ध्यान दिनुपर्छ ।’

भारतबाहेक नेपालसँग व्यापारिक सम्बन्ध रहेका १३८ मुलुकमा भने कुल निकासीको १९ प्रतिशतभन्दा कम हिस्सा देखिन्छ । निर्यात व्यापारमा वस्तुसँगै गन्तव्य विविधीकरण गर्ने सरकारको नीति यो तथ्यांकले असफल सावित गरेको छ । भारतको भन्सार नीतिमा हुने फेरबदलका कारण पनि समस्या आउन सक्ने जानकारहरु बताउँछन् । व्यापार विज्ञहरुका अनुसार एउटै मुलुकसँगको निर्भरताले वैदेशिक व्यापार जोखिमपूर्ण हुने भएकाले निकासीका अन्य गन्तव्य मुलुक बढाउँदै लैजानुपर्ने अवस्था छ ।

सन् १९९६ को नेपाल–भारत पारवहन र वाणिज्य सन्धियता नेपाली बजारमा भारतीय वस्तुको प्रभुत्व बढेको र नेपाली वस्तुले पनि भारतीय बजार पाउन थालेको व्यापारविज्ञ रवि सैंजु बताउँछन् । उनका अनुसार भारतीय नीतिका कारण नेपाली वस्तुको बजार भने दिगो देखिँदैन । वाणिज्य सन्धिले नेपाल र भारतबीच पारस्परिक व्यापार सहुलियतको व्यवस्था गरे पनि नेपालले त्यसको फाइदा लिन नसकेको उनको भनाइ छ ।

सन् १९९० को अवधिसम्म नेपालको वैदेशिक व्यापारमा भारतको अंश ४० प्रतिशतभन्दा तल झरेको थियो । तर, त्यसयता भारतसँगको निर्भरता बढ्दै गएको छ । सन् १९९६ को नेपाल–भारत वणिज्य सन्धिपछि नेपालमा भारतीय लगानीका बहुराष्ट्रिय कम्पनी फस्टाएपछि नेपाली उद्योगहरूले फाइदा लिन नसकेको उनको भनाइ छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट भारततर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको तेल, फलाम तथा फलामका उत्पादनहरु, पाम आयल, यार्न, प्लाइउड, चिया, पिना, कपडा, जुटका सामान, अलैंची, जुसलगायत छन् ।

पुनर्जन्मशील कृषि, जसलाई पुनर्जन्मशील खेती पनि भनिन्छ, एक दिगो कृषि अभ्यास हो जसले जमिनको प्राकृतिक जीवनचक्रलाई समर्थन गर्छ । यो परम्परागत खेती अभ्यासको वृद्धि हो, जुन रासायनिक मल र जोताइको प्रयोगमा आधारित छ र यसले उच्च बाली मूल्य उत्पादन गर्ने देखाएको छ ।

कारोबार दैनिकबाट 

सम्बन्धित समाचार