सुलोचना लुइँटेल,
वडासचिव (अधिकृतस्तर सातौं)
स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार हेर्दा वडा सचिवले ३०-३५ वटा काम गर्नुपर्छ । सिमित कर्मचारी व्यवस्थापन हुँदा काममा व्यवधान पनि आउने छँदै छ । सिमित कर्मचारीबाटै अहिलेसम्म वडा कार्यालयले काम गरिरहेको छ । एउटा कर्मचारीलाई उसले धान्न सक्ने गरी कामको जिम्मा दिइएको छ । कर्मचारी व्यवस्थापन संरचना (ओएनएम) बनाउँदा वडालाई स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारहरू सहज तवरले कार्यान्वयन गर्न सक्ने गरी जनशक्तिको व्यवस्थापन गर्नुपर्छ । तर अहिलेसम्म उपलब्ध जनशक्तिबाटै काम भइरहेको छ । अहिले वडामा वडासचिव, वडा सहायक, एक जना इन्जिनियर, एक जना कम्प्युटर अपरेटर, सामाजिक परिचालक, कार्यालय सहयोगी र सरसफाईकर्मी गरी १० जना कर्मचारी कार्यरत छन् ।
यहाँ आउनु अघि फरक-फरक कार्यालय तथा फरक फरक कामको अनुभवका आधारमा पनि अहिले वडा सञ्चालन गरिरहेको छु । संघीयता कार्यान्वयनपछि अहिले शाखा, महाशाखा अथवा सरकारकै विभिन्न निकायको काम वडाले सम्पादन गर्नुपर्छ | व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता वितरण सहितका काम वडाले नै गर्नुपर्छ । व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सेवा गृह मन्त्रालय अर्न्तगतको काम हो । सचिवलाई स्थानीय पन्जिकाधिकारीको रूपमा तोएिको छ । स्थानीय विकास मन्त्रालय हुँदा पञ्जीकरण शाखा अलग्यै थियो । उसको जिम्मेवारी पञ्जीकरणसँग मात्रै सम्बन्धित थियो । संघीयता कार्यान्वयन पछि पञ्जीकरण शाखाको काम वडा तहमा आएको छ । यो काम वडा सचिवले गर्नु पर्छ । वडासचिव निर्णय कार्यान्वयन गर्नुपर्ने अधिकार प्राप्त अधिकारी हो । जनप्रतिनिधिले बनाउने नीति निर्माण तथा निर्णय वडा सचिवले प्रमाणिकरण गर्नुपर्छ । वडासचिव कार्यान्वयन गर्ने अधिकारी भएकाले काम गर्दा समस्या आएका छैनन् । वडा सचिवले जनप्रतिनिधि र जनताबीच पुलको रुपमा काम गर्नुपर्छ । नीतिका आधारमा बजेट विनियोजन भएपछि कार्यान्वयन गर्ने अधिकारी वडासचिव हो । निर्णयकर्ता तथा कार्यान्वयन तहमा संम्लग्न हुनुपर्ने वडा सचिवको भूमिका महत्वपूर्ण छ । जनताको मागको आधारमा योजना तयार हुने त्यहि अनुसार कार्यान्वयन हुने भएकाले काम अघि बढिरहेको छ ।
व्यवसाय दर्ता, मालपोत कर, सम्पत्ति कर, बाहल कर जस्ता राजस्व वडा तहमै उठाउने व्यवस्था भएको छ । अहिले महानगरपालिकाले व्यवस्थापन गरेका कर्मचारीबाट यी सबै काम भइरहेको छ । महानगरको राजस्व प्रशासन महाशाखाले समय समयमा वडामा राजस्व हेर्ने कर्मचारीलाई नीतिमा भएका व्यवस्थालाई अपडेट गराई रहेको कारण काम गर्न सहज भएको छ । पुनर्ताजकी तालिम बेला बेलामा हुँदा काममा सहज भएको छ ।
वडा सचिवलाई स्थानीय सरकार सञ्चालन ऐनको परिभाषाले अविछिन्न उत्तराधिकारीवाला भनेको छ । त्यो भनेपछि वडा सचिवले कामको निर्णयको मैले जिम्मा लिन्न, थाहा छैन भन्ने हुँदैन । वडाबाट भएका काम जो सुकैले गरेको भए पनि वडा कार्यालयले जिम्मा लिनै पर्छ । अगाडिको मलाई थाहा भएन भन्ने हुँदैन । कारोबारको हकमा आफू नभएको बेलामा के भएको थियो त्यसको प्रक्रिया कस्तो छ भन्ने कुरा हेरेर व्यवहार गर्नुपर्छ । वडाको प्रमुख भएपछि सबै कुराको जिम्मेवारी लिनुपर्छ । अगाडि भए गरेका काम पत्रचारका निर्णयहरू हेरेर वडा सचिवले सहजिकरण गर्नुपर्दछ ।
सरकारी सेवा लिन झन्झटिलो भन्ने गुनासो छ । सेवा प्रवाहका लागि वडामा बडापत्र राखिएको छ । काम गर्न सहजताका लागि चाहिने भनेको नागरिक बडापत्र हो ।