म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी हुँदै राउण्ड धवलागिरी पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको उद्धार टोलीले फेला पारेको छ ।
धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण ३ जना ब्रिटिस महिला पर्यटक सहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान फेला पारेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘१२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेना सहितको टोली भेट भएका छन् । आज बिहान उनीहरुले सामुहिक रुपमा लन्च पनि गरे । पर्यटकको स्वास्थ्य अवस्था पनि राम्रो छ । अहिले याकखर्क भन्ने ठाउँमा आउन लागेका छन् ।’’
पर्यटकको उद्धारका लागि परिचालन भएको संयुक्त सुरक्षाकर्मीको टोलीलाई उहाँले धन्यवाद समेत दिनुभयो । हिमपात भइरहेकाले पदयात्रामा गएका पर्यटक समस्यामा परेको खबर प्राप्त भएपछि मुस्ताङबाट सुरक्षाकर्मीको उद्धार टोली परिचालन भएको थियो ।
उहाँका अनुसार पदयात्रीहरु सोमवार साँझदेखि ‘हिडन भ्याली’ मा परेको बाक्लो हिउँमा फसेका थिए । सो स्थान हिडन भ्याली धवलागिरी र सीता हिमाल विचको पास काटेर तल टुक्चेपीको पछिल्लो पाखामा समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्दछ ।