पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा आयोजना गरिएको पाँचौं सुनवल महोत्सवमा महिला उद्यमीका उत्पादनलाई प्राथमकिता दिइने भएको छ । मङ्सिर १० देखि २१ गतेसम्म सुनवलको सोमनाथ बजार क्षेत्रमा उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा हुने महोत्सवमा महिला उद्यमीका लागी निशुल्क स्टल उपलब्ध गराइने भएको छ ।
महिला उद्यमीलाई प्रोत्साहन गर्दे स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगोस् भन्ने उदेश्यले निशुल्क स्टल उपलब्ध गराउन लागिएको संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो । सुनवल र आसपासका क्षेत्रमा महिलाहरुले विभिन्न घरेलु उद्योग संञ्चालन गर्दे आएकाले ति उद्योग बाट उत्पादित वस्तुको बजारीकरणका लागी मेलामा प्राथमिकता दिइने संघले जनाएको छ ।
महोत्सवमा ३० वटा स्टल महिला उद्यमीहरुका लागि निशुल्क उपलब्ध गराइने छ । निःशुल्क स्टल राख्नका लागि महिला उद्यमीले नगरपालिका, घरेलु कार्यालय वा सम्बन्धित कार्यालयमा व्यवसाय दर्ता अनिवार्य हुनुपर्ने छ । १ सय रुपैयाँ टिकट दर कायम गरिएको महोत्सवमा सामाजिक सुरक्षा भत्ता पाएका जेष्ठ नागरिकलाई निःशुल्क छ ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय स्टल रहने छन् । महोत्सव अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो ।