काठमाण्डौ – इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला टोली आज भारत प्रस्थान गरेको छ । नेपाली महिला टोली बिहान दिल्ली प्रस्थान गरेको र त्यहाँबाट सिक्किम जाने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश साहले जानकारी दिनुभयो ।
एन्फाले टोलीलाई हिजो कार्यक्रम गरी बिदाइ गरेको थियो । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पर्सि शुक्रवार ७ गते इरानसँग र कात्तिक १० गते भारतसँग खेल्नेछ । दुई वटै खेल शिलोङको जवाहरलाल नेहरु रङ्गशालामा हुनेछ ।
त्यसपछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ । यो खेल फिफा विन्डो अन्तर्गत नभएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी ‘साम्बा’, पूजा राई, एञ्जिला तुम्बापो सुब्बा नेपाल आएका छन् । फिफा वरीयतामा नेपाल ८९औं स्थानमा छ । यस्तै भारत ६३औं र इरान ७०औं स्थानमा छन् ।