काठमाण्डौ – नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताले पार्टीको महाधिवेशन मंसिरभित्रै हुनुपर्ने माग गरेका छन् । आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरले केन्द्रीय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको समेत आरोप लगाएका छन् ।
महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले आउँदो चुनावमा जानुपर्ने आवश्यकता महशुस गरी विशेष महाधिवेशन माग गरिएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले गएको भदौ २३ र २४ गतेका तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताउनुभयो । गएको असोज २९ मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४औं महाधिवेशनका दुई हजार चार सय ८८ प्रतिनिधिले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए ।