फूलखेतीमा रमाउँदै भक्तपुरका महिला

4.8k Shares

भक्तपुर,  असोज ३० गते ।  मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ । बिहान उठेर फूल टिपेर घरमा पुग्न नपाई पाकेको खाना खाएर फेरि आँगन र पिढीँको डिलमा बस्दै महिलाहरू सियो धागो मिलाउँदै त्यही फूलका माला गाँस्न अभ्यस्त देखिन्छन् ।

गाँसेका मालालाई लहरै झुण्ड्याएर राख्न, ढकमक्क फुलेका सयपत्रीलाई मुठा पारेर बजार पु¥याउने काममा परिवारका अन्य सदस्यहरू पनि उत्तिकै ब्यस्त देखिन्छन् । कोही फूल र माला लिन आएका व्यापारीसँग आफ्नै आँगनमा बसेर मोलतोल गरिरहेका हुन्छन् । तिहार नजिकिएसँगै सूर्यविनायक नगरपालिका–७ गुण्डुको प्रत्येक घरआँगनमा अचेल देखिने दृश्य हो यो । 

भक्तपुरकै पुरानो बस्ती चाँगुनारायण नगरपालिका–९ ताथलीका बनमाला समुदायले केही वर्र्षौंदेखि व्यावसायिक रुपमा मखमलीको फूलखेती गर्दै आएको छ । यहाँका बनमाला समुदायले एक सय वर्षदेखि नै मखमली फूलको खेती गर्दै तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पु¥याएर आर्थिक उपार्जन गर्दै आएको छ । यस पेशा आजसम्म पनि पुस्तान्तरण हुँदै आएपछि ताथलीका बनमाला समुदायले फूलखेतीलाई निरन्तरता दिदै आएका छन् भने राम्रो आम्दानी हुन थालेपछि यहाँका अन्य समुदाय एवं जातजातिले पनि केही वर्षदेखि व्यावसायिक रुपमा मखमलीको फूलखेती गर्दै आएका छन् ।

त्यस्तै भक्तपुरको गुण्डुमा पछिल्लो चार दशकदेखि भित्रिएको फूलखेती अहिले व्यावसायिक रुपमा परिणत हुँदै करोडौंको फूल तथा माला बिक्री हुन थालेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्वर्गीय पहलमान नगरकोटीले करिब ४० वर्ष अगाडि मखमली फूलको व्यावसायिक खेती सुरु गरेको बताउनुहुन्छ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा । उहाँले सुरु गर्नुभएको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमूना वडाको पहिचान बन्दै फूलको राजधानीको रुपमा परिचित भएको सापकोटा बताउनुहुन्छ ।

स्वर्गीय नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमान्ले ४० वर्ष अगाडि असनका व्यवसायीका सल्लाहमा मखमलीको खेती सुरु गरेको बताउनुहुन्छ । अहिले पुस्तान्तरण हुँदै उहाँको छोरी उर्मिला नगरकोटी र तीन छोरा मदनकृष्ण, कविराज पनि सयपत्री, मखमली मात्रै नभई विभिन्न जातका फूलखेती गर्नमा व्यस्त छन् । 

गुण्डुमा फूलखेती भित्र्याउने नगरकाटीले ४० वर्ष अगाडि भक्तपुरदेखि काठमाडौँका पशुपति, चावहिल, असन, इन्द्रचोकलगायतका बजारमा फूल बिक्री गर्न लैजाँदा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तीतो अनुभव सुनाएको उहाँका छोरा कविराज बताउनुहुन्छ । त्यतिबेला बजारमा अरु व्यापारीसँग लुकेरै भए पनि एउटा माला एक सुकामा बिक्री गरेको रकमले १० जनाको परिवारको खर्च टार्नुपर्ने बाध्यता रहेको थियो । अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ भने छोराहरूले फूलसँगै असनमै अन्य व्यवसाय पनि गर्दै आएका छन् । 

गाउँका अरुका माला पनि बजार पुर्याउने स्व।नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको स्मरण गर्दै उहाँकी छोरी उर्मिलाले आफ्नो घरबाट सुरु भएको खेती अहिले गुण्डुमा मुख्य व्यावसायिक खेतीको रुपमा विकास भएको देख्दा खुसी लागेको बताउनुहुन्छ । यहाँ महिलाले आफ्नै पेवा आम्दानीको रुपमा समेत फूल खेती गर्दा उनीहरूको राम्रो आम्दानीको स्रोत समेत बनेको छ । 

वडास्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्षसमेत रहेकी उर्मिला यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमानको आशामा गर्नुपर्ने अबस्था नरहेको, चाँडबाडलगायत घरखर्चमा पनि टेवा पुगेको बताउनुहुन्छ । घरखर्चका लागि ऋण समेत नपत्याउनेहरू फूलखेतीबाटै बुबाले तीन–चार लाख रुपैयाँसम्म कमाउन थालेपछि जीवनस्तरमा उल्लेख्य सुधार आएको उहाँ बताउनुहुन्छ । फागुनमा बेर्ना राखि चैत्रमा रोपेको मखमली असारदेखि निरन्तर चार महिनासम्म टिपेर मखमलीको माला गाँसी वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् ।

सम्बन्धित समाचार