भ्रष्टाचारमुक्त शासन र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारलाई आह्वान

10.3k Shares

काठमाडौँ, असोज २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भीर राजनीतिक र सामाजिक संकटको अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण अत्यावश्यक रहेको भन्नुभयो।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई मङ्गलबार सानेपास्थित बीपी स्मृति भवनमा सम्बोधन गर्दै सभापति देउवाले भदौ २३ र २४ गतेका घटनाले मुलुकलाई ठूलो क्षति पुर्‍याएको बताउनु भयो।

उहाँले भन्नुभयो, “हामी आज तोडफोड, लुटपाट र आगजनीपछि खरानी बनेको कार्यालयमा बैठक गरिरहेका छौं। यो दृश्यले हामी सबैलाई स्तब्ध बनाएको छ।”

सभापति देउवाले ती घटनामा परी ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।

उहाँले भन्नुभयो, “भदौ २३ गते जेनजी आन्दोलनका क्रममा घुसपैठ भई प्रदर्शन हिंसात्मक बनेको र निर्दोष युवाहरूको ज्यान गएको घटनाले मलाई अत्यन्त मर्माहित बनाएको छ।”

उहाँले भदौ २४ गतेका घटनामा राष्ट्रपति भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय, अख्तियार, स्थानीय तह र राजनीतिक दलका कार्यालयहरूमाथि भएको आक्रमणलाई नेपालको इतिहासकै भयावह घटना भएको बताउनु भयो।

उहाँका अनुसार, कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालय र करिब १२५ जना नेताहरूका निजी घर र कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो।

उहाँले भन्नुभयो, “प्रजातान्त्रिक आन्दोलनका प्रतीक गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र कोइराला परिवारको ऐतिहासिक निवाससमेत जलाइएका छन्। यस्तो घटनाले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ।”

सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। उहाँले भन्नुभयो, “यो आकस्मिक होइन, सुनियोजित हमला हो। यसको निष्पक्ष अनुसन्धान गर्नुपर्छ।”

सम्बन्धित समाचार