अपी सडक निर्माणमा ढिलाइ, महँगीको मारमा स्थानीय

6.7k Shares

दार्चुला– यहाँको अपी हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरी निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो ।

आर्थिक वर्ष २०७७/७८ सालदेखि सो सडक निर्माण सुरु भएकामा २०८२ वैशाख १४ गते नयाँ ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । 

सुर्खेतको बिएन्डपी निर्माण सेवाले बाटो खोल्ने जिम्मेवारी पाएकामा हालसम्म म्याद थप हुँदा पनि २० प्रतिशत मात्रै काम सम्पन्न भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका निमित्त प्रमुख इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए । कुल तीन करोड ८६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । 

मकरीगाडदेखि दुई दशमलव पाँच किलोमिटर सडक खण्डको नयाँ बाटो खुलाउनुपर्ने छ । जसमा एक किलोमिटर सडक खण्ड कडा चट्टान छ ।

चट्टान भएको खण्डमा हाल निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर लिलाधर भट्टले बताए । उनका अनुसार पछिल्लो समय पुस मसान्तसम्म ठेक्का म्याद थप गरिएको छ । 

‘कडा चट्टान भएको क्षेत्र छिचोल्ने बित्तिकै सडक काट्न सहज छ,’ भट्टले भने, ‘गाउँ पुग्ने बित्तिकै माटो फाल्ने काम, पर्खाल लगाउने काम सुरु हुन्छ ।’ यो सडकले अपी हिमाल गाउँपालिका–१ देखि ४ का नागरिकलाई सहज हुनेछ । 

स्थानीयको अवरोध नभएमा निरन्तर काम अघि बढ्ने निर्माण कम्पनीका प्रतिनिधि विष्णु केसी बताउँछन् । अपी हिमाल गाउँपालिका–३ का स्थानीय गोपि लोथ्याल सडक गाउँपालिका केन्द्रसम्म नपुग्दा स्थानीयले महँगीको मार खेप्नुपरेको सुनाए । ‘अहिले मकरिगाडबाटै घुसा, खण्डेश्वरीसम्म सामान ढुवानीमा प्रतिकिलो १० रुपैयाँ पर्छ’, उनले भने । 

अपी हिमाल गाउँपालिका अध्यक्ष भगतसिँह ठेकरे बोहराले चालु आर्थिक वर्षभित्र गाउँपालिका केन्द्रसम्म सडक पुग्ने विश्वास व्यक्त गरे । 

यो वर्ष सडक विभागले तीन करोड र गाउँपालिकाले एक करोड बजेट विनियोजन गरिएको छ । सांसद विकास कोषबाट तीन करोड बजेट विनियोजन भएको थियो । सांसद विकास कोषको बजेट भने कटौती हुने सम्भावना छ ।

सम्बन्धित समाचार