काठमाडौं, असोज २४ गते । गृहसचिव रामेश्वर दंगालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपाललाई उच्च तयारीका साथ लाग्न निर्देशन दिनुभएको छ।
गृहसचिव दंगालले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोकको निरीक्षण भ्रमण गर्दै सुरक्षा संयन्त्रको कार्यशैली र तयारीबारे जानकारी लिनु भएको हो। उहाँले आगामी निर्वाचन पूर्व र पश्चातका सुरक्षा चुनौतीका दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षाका लागि समयमै योजना बनाई जनशक्ति तथा स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्छ। सीमित स्रोतका बाबजुद दक्ष जनशक्ति र उपकरणको सदुपयोग गर्न सकियो भने निर्वाचन कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सम्पन्न गर्न सकिन्छ।”
गृहसचिव दंगालले सशस्त्र प्रहरी बलको भूमिका विभिन्न आन्दोलन, विपद् व्यवस्थापन, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण र विश्वासिलो रहेको उल्लेख गर्दै आगामी निर्वाचनका सन्दर्भमा त्यसलाई अझ सुदृढ बनाउन मन्त्रालय सकारात्मक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।