आज नवघोषित कुमारी आर्यतारा शाक्य हुँदै, मध्याह्न १२ बजेर ५ मिनेटको शुभसाइतका लागि तयारी पूरा

6.7k Shares

काठमाण्डौ – काठमाण्डौमा नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्नुहुने भएको छ । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्न १२ बजेर ५ मिनेटको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो ।

विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ ।कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारीघर व्यवस्थापन समितिका संयोजक शाक्यले बताउनुभयो ।

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ । आर्यतारा काठमाण्डौका लागि छानिनुभएको भएपनि ललितपूरको पाटन ,बुंगमती ,काठमाण्डौको टोखा र भक्तपुरमा पनि कुमारीको व्यवस्था गरिएको छ । नेवार समुदायमा परापुर्वकालदेखि नै कुमारी देवीको पुजा गर्ने परम्परा रहेपनि तत्कालीन राजा जयप्रकाश मल्लले काठमाण्डौमा रहेको कुमारी घरको स्थापना गरेको बताइन्छ ।

 

सम्बन्धित समाचार