जनकपुरधाम, भदौ २२ गते । भदौ शुक्ल पूर्णिमादेखि सुरु हुने पितृपक्षको पहिलो दिन जनकपुरधामस्थित गंगासागरमा तर्पण दिनेहरूको घुँइचो लागेको छ।
सोह्र श्राद्ध प्रारम्भको अघिल्लो दिन आइतबार पूर्णिमाको बिहानैदेखि गंगासागरमा स्नान श्रद्धालु भक्तजनहरुको घुँइचो देखिएको हो । यसरी पवित्र जलायमध्ये एक मानिने गंगासागरमा प्रत्येक वर्ष भदौ शुक्ल पूर्णिमाको दिन पितृ तर्पणमा सहभागी हुन नृवपाल तथा सिमावर्ती क्षेत्र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गर्छन् ।
मिथिलामा असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भदौ पूर्णिमाकै दिन देवर्षि तर्पण गर्ने परम्परा छ । यस दिन कूलदेवता, ग्रामदेवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलिदेखि आफ्ना दिवंगत पितृहरूको श्राद्ध गरिन्छ ।
गंगासागरमा देखिएको भीड धार्मिक कर्तव्य मात्र नभई सामाजिक मेलमिलापको अवसर पनि बनेको छ । तर्पण दिन आएका शशी साहले भन्नुभयो, “हाम्रा पूर्खाहरू पनि यही गंगासागरमा तर्पण दिन आउनुहुन्थ्यो । अहिले हामी पनि यहीँ आउँछौं, किनकि धार्मिक दृष्टिले गंगासागरको छुट्टै महत्व छ ।”
पितृपक्षका बेला मिथिलाका नदी र तलाउका घाटमा तर्पण दिनेहरुको भिड देखिन्छ ।