धनकुटाबाट ८ करोड मूल्यभन्दा बढीको अलैंची निकासी

9.3k Shares

हिले, भदौ १७ गते । आर्थिक वर्ष २०८१-०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । 

बितेको आर्थिक वर्षमा करिब ७५ हजार रुपियाँदेखि ९५ हजार रुपियाँ प्रतिमनमा अलैंची खरीद बिक्री भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने धनकुटामा २०८०-०८१ मा करिब ३४।८ मेट्रिटन अलैंची उत्पादन हुँदा करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यो आर्थिक वर्ष धनकुटामा करिब ५।२ मेट्रिटनले उत्पादन बढ्दा निर्यात करीब एक करोड चार लाख रुपियाँले बढेको हो ।

विदेशी मुद्रा आर्जनको माध्यम रहेको अलैंची खेतीमा केहि वर्ष पहिले देखि लागेको छिर्के, फुर्के, गानो कुहिने, बोट सुक्ने, दाना नलाग्ने रोग तथा मूल्यमा आएको गिरावटका कारण निराश बन्दै गएका किसानलाई अहिले अलैंचीको मूल्यमा आएको सुधारले राहत दिएको र अघिल्लिो वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुबैमा वृद्धि भएको ज्ञान केन्द्रले जनाएको छ । 

अघिल्लो वर्ष केन्द्रले बगान व्यवस्थापन अन्तर्गत उचाइ अनुसार उपयुक्त जातको छनोट, नर्सरी स्थापना, उचित सिचाइँ व्यवस्थापन, मलचिङ, जैविक मलको सन्तुलित प्रयोग, छायाँ व्यवस्थापन र रोग–कीरा नियन्त्रण जस्ता विषयमा किसानलाई प्राविधिक र व्यवस्थापनका लागि सहयोग गर्दै आएको छ । धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका तथा छथर जोरपाटी गाउँपालिकामा अलैंचीको व्यावसायिक खेती हुने गरेको छ ।  

सम्बन्धित समाचार