चन्द्रपुर (रौतहट), भदौ १७ गते । रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काममा पालिकाले बन्देज लगाएको हो ।
अतिक्रमण हटाउन बारम्बार नगरपालिकाले आग्रह गर्दा अटेरी गरेपछि नगरपालिकाको टोलि आफैँ फुटपाथ खालि गराउन सुरु गरेको नगर प्रमुख संजय कुमार काफ्लेले बताउनुभयो । मंगलबार बिहान चन्द्रनिगाहपुर चोकमा पालिकाले फुटपाथ खालि गराएको हो ।
महेन्द्रराज मार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मुख्य चोकदेखि बजार सम्मको फुटपाथ खालि गराउन लागिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
फुटपाथ खालि गराउने कार्य सराहनीय रहेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्कीले बताउनुभयो । फुटपाथ खाली भए पछि शहरको सौन्दर्यीकरण बढ्ने, पार्किङमा समस्या नहुने तथा सडक पेटिमा भिडभाड नहुने उहाँले बताउनुभयो ।