महाेत्तरी – मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । कुनै ठाउँमा यो पर्वलाई चौठचन्द्र पर्व भनेर भनिन्छ ।
संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्य जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउनुहुन्छ । मिथिला महिला आज दिनभर निराहार बसी राति चन्द्रमाको पूजा गरेपछि अन्न र जल ग्रहण गर्छन् ।
पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवती देवीले बताउनुभयो ।
महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचनपर्व सम्पन्न भएपछि परिवारका सदस्य आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खाने चलन छ ।