उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस-एमालेले सांसदलाई खाली कागजमा सही गराए : राप्रपा

6.7k Shares

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुगेका कारण कांग्रेस–एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको बताइन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस र एमालेहरूले आफ्ना सांसदलाई खाली कागजमा सही गराएको समेत बताइन् । 

बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कार्यको राप्रपाले विरोध गर्ने उनले बताइन्  ।

उनले भिजिट भिसाको धन्दा चलाउनेलाई सरकारले संरक्षण गरेको तर सिफारिस पत्रमा हस्ताक्षर गर्ने उपसभामुखलाई महाअभियोग लगाउने काम उचित नभएको जिकिर गरिन् । सांसद कार्कीले धारणा राखिरहँदा एमाले सांसद सूर्य थापाले नियमापत्ति गरिन् ।

उनले एमाले सांसदमाथि लाञ्छना लगाउँदै गाल गलौच भएको भन्दै आपत्ति जनाइन्  । कस्ता कागजमा सही गराएको भन्ने ढंगको अभिव्यक्ति रेकर्डबाट हटाउन उनले माग गरिन् । 

सांसद थापाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै सांसद कार्कीलाई बोल्न समय दिइन् । त्यसपछि सांसद कार्कीले एमाले र कांग्रेसले देशलाई दुई दलीय शासन पद्धतिमा लैजान खोजिरहेको आरोप लगाइन्।

उनले अहिले सत्ता गठबन्धनमा रहेका साना दललाई समेत कांग्रेस–एमालेबाट सचेत हुन सुझाव दिइन् । उपसभामुखलाई हटाउने प्रयासका कारण कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएको उनको भनाइ छ । 

सम्बन्धित समाचार