काठमाडौँ । संसद्का विपक्षी दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने लगायत सत्तापक्षको सबैखाले षड्यन्त्रको प्रतिरोध गर्ने निर्णय गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिपक्ष दलको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सत्तापक्षका सबैखाले षड्यन्त्रको प्रतिरोध गर्ने निर्णय गरिएको रातोपाटीलाई बताए ।
‘हामी सत्तापक्षका सबैखाले षड्यन्त्रको प्रतिरोध गर्ने निर्णयमा पुगेका छौँ’, परियारले भने, ‘सत्तापक्ष एकपछि अर्को षड्यन्त्रमा लाग्यो भन्ने निष्कर्ष रह्यो ।’
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले कांग्रेस–एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै त्यो प्रयास सफल हुन नदिने बताए ।
‘कांग्रेस–एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजेका छन् । हामी उपसभामुखलाई हटाउन दिँदैनौँ, प्रतिवाद गर्ने निर्णय भएको छ’, पाण्डेको भनाइ छ ।
कांग्रेस/एमालेले उपसभामुख हटाउन मंगलबारबाट हस्ताक्षर संकलन गर्न थालेपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो विपक्षी दलको बैठक बोलाएका थिए ।