तेस्रो सहभागितामै स्पेनले उचाल्यो विश्वकपको उपाधि

16.6k Shares

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले आफ्नो तेस्रो सहभागितामै महिला विश्वकपको उपाधि उचालेको हो । स्पेनले आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराउँदै उपाधि चुमेको हो । 

खेलको प्रारम्भमै लिएको अग्रतालाई जोगाउँदै स्पेनले उपाधि आफ्नो नाममा लेखायो । खेल सुरु भएको २९औं मिनेटमा स्पेनले अग्रता लिएको थियो । स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । 

स्पेन समूह ‘सी’ मा दोस्रो हुँदै नवौं विश्वकपको नकआउट चरणमा पुगेको थियो । समूहगत चरणमा स्पेनले कोस्टा रिका र जाम्बियालाई हराएको थियो । जापानसँग भने स्पेन पराजित भएको थियो । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई ५—१ गोलले हराएको थियो । 

स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २—१ गोलले हराएको थियो । यसैगरी प्रतियोगिताको सेमिफाइनलमा स्पेनले स्विडेनलाई पराजित गरेको थियो । सेमिफाइनल खेलमा स्पेन २—१ गोलले विजयी भएको थियो । 

सम्बन्धित समाचार