काठमाण्डौ – ललितकलामा एआईको समयसापेक्ष उपयोग अपरिहार्य रहेको काठमाण्डौमा भएको कार्यक्रमका वक्ताहरुले बताएका छन ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हिजो भएको ‘ललितकलामा एआई’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले ‘एआई जेनेरेटेड’ कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा ठाउँ दिन सकिने बताएका हुन ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताउनुभएको छ ।
समयअनुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उहाँको भनाइ थियो ।
लेखक/पत्रकार अजय शर्माले एआईको विषयमाथि प्रस्तुति दिँदै एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा जानकारी दिनुभएको थियो ।
शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गर्नुभएको थियो । उहाँले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनपर्ने र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताउनुभयो ।