काठमाण्डाै – बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाउनुभएको छ । संसदीय दलमा आज भएको मत विभाजनमा लामाको पक्षमा १५ मात्रै मत परेको छ । उहाँको विपक्षमा २२ मत परेको छ । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाउनुभयो ।
बागमतीका मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उहाँको विकल्पमा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाव बढेको छ । कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले बहादुरसिंह लामामाथिकाे अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका हुन् ।
यसैबीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले राजीनामा दिनुभएको छ । यसअघि गएको साउन ९ गते चार जना मन्त्रीले राजीनामा दिएका थिए । युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले यसअघि राजीनामा दिनुभएको थियो । कांग्रेस कोटाबाट मन्त्री बनेका खड्कासहित पाँच जनाले राजीनामा दिएका हुन् ।