बागमतीका मुख्यमन्त्री लामाले संसदीय दलमा गुमाए विश्वास, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

7.5k Shares

हेटौंडा- बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको पक्षमा १५ मात्रै सांसद उभिएका हुन्। उता उनको विपक्षमा २२ जना सांसद उभिएका छन्

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो । बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन् ।

अब नयाँ संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुनेछ । उक्त निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका खुल्नेछ ।

तर, आफ्नै पार्टीका लामालाई दलको नेताबाट हटाएका बानियाँका लागि प्रदेशसभामा अर्को चुनौती छ । यदि लामाले आफूलाई हटाएको बदला फ्लोर क्रस गरेर लिए भने बानियाँ एक पटक फेरि मुख्यमन्त्रीबाट बञ्चित हुन सक्नेछन् ।

बानियाँ २०७९ को निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा तत्कालीन माओवादी केन्द्रसहितको सत्ता गठबन्धबाट विजयी भएका थिए । ।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरेका थिए । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका थिए । उनी यसअघि पनि मुख्यमन्त्रीको दौडमा थिए । तर उनलाई नबनाई कांग्रेसले नुवाकोटका लामालाई अवसर दियो ।

 

सम्बन्धित समाचार