काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन्।
विभिन्न माग राख्दै सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि मेयर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ।
स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि निषेधित क्षेत्रमा सत्याग्रह बस्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर माइतीघर पुर्याइएको हो।
भट्टराई शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित तीन दिनसम्म सत्याग्रहमा बस्ने बताइएको छ।
माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन्। उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन्। छेउँमा बाँसका भाटा राखेका छन्।
उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन्।