काठमाडौं, २१ मंसिर । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप एक खर्बभन्दा माथि पुगेको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढ्दै वित्तीय साक्षरता र बढ्दो आर्थिक क्रियाकलापका कारण बैंकिङ कारोबार वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २०७७ असारको तुलनामा २०.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको थियो ।
प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६.२० प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा १८.७२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२५ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.८१ रहेको छ ।
कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.८२ प्रतिशत र बाजुरा जिल्लाकोअंश सबैभन्दा कम ०.९४ प्रतिशत रहेको छ ।
बैंकको कर्जामध्ये ८६ प्रतिशत सेवा क्षेत्रमा र ९ प्रतिशत कृषिमा प्रवाह भएको अध्ययनमा पाइएको छ ।