भोटखोलामा पहिरो : पाँच घरपरिवार विस्थापित

11.6k Shares

संखुवासभा, साउन ७ गते । संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्ग्खा टोलमा मंगलबार राति आएको भीषण पहिरोका कारण पाँच घरपरिवार विस्थापित भएका छन्।

गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार ढुंगा, माटो र ठूलो ढिस्कोसहित आएको पहिरोले एक घर पूर्ण रूपमा भत्किएको छ भने अर्को एक घर आंशिक क्षतिग्रस्त भएको छ । बाँकी तीन घरहरू उच्च जोखिममा परेका कारण पूर्णरूपमा विस्थापित भएको छ। पहिरोले रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षति भएको अध्यक्ष भोटेले बताउनुभयो ।

विस्थापित हुनेमा लिला बहादुर श्रेष्ठको सात सदस्यीय परिवार, लाप्साङ शेर्पाको चार जनाको परिवार, मुस्कान शेर्पाको पाँच जनाको परिवार, सुब्बा श्रेष्ठको तीन सदस्यीय परिवार र रञ्जना श्रेष्ठको परिवार रहेका छन्।

पीडितहरूलाई तत्काल स्थानीय युवा, स्याक्सिला गोला प्रहरी चौकी र गाउँपालिका अध्यक्षको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ। अहिले उनीहरू अस्थायी बसोबासमा छन् भने पुनर्स्थापना कार्य सुरु भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले थप क्षति रोक्नका लागि पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार