नेपालगन्जको क्यासिनोहरुमा नेपालीको ओईरो

8.4k Shares

नेपालगन्ज । नेपालगन्जका क्यासिनोहरूमा जुवा खेल्न नेपालीको ओइरो लाग्ने गरेको छ । नेपालगन्जका सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका क्यासिनोहरूमा पछिल्लो समय खुलेआम नेपाली नागरिकलाई प्रवेश दिन थालिएको छ। नेपाल सरकारले नेपाली नागरिकलाई देशभित्रका क्यासिनोहरूमा जुवा खेल्न प्रतिबन्ध लगाए पनि नेपालगन्जका केही क्यासिनोहरूमा यो नियम पूर्णतः बेवास्ता गरिएको देखिन्छ। यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ। नेपालको कानून अनुसार, नेपाली क्यासिनोमा विदेशी नागरिकलाई मात्र जुवा खेल्न अनुमति छ। तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यासिनो छिरेका नेपाली घरबारविहीन भएका खबरहरू सार्वजनिक भइरहेका छन्।

कानूनलाई लत्याउँदै नेपालगन्जमा सञ्चालनमा रहेका क्यासिनोहरूले जुवा खेल्न नेपालीलाई प्रवेश गराइरहे पनि बाँके प्रहरी भने मुकदर्शक बनेको छ। नेपालगन्जमा करिब आधा दर्जन क्यासिनो सञ्चालनमा छन्। यहाँ सञ्चालित क्यासिनोहरूले निर्वाध रूपमा नेपाली प्रवेश गराई जुवा खेलाइरहे पनि प्रहरी भने चुपचाप रहेको छ। भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन्। बाँके प्रहरीलाई नेपालगन्जका क्यासिनोमा जुवा खेल्न नेपाली प्रवेश गरिरहेका छन् भन्ने थाहा नभएको भने होइन। तर, बाँके प्रहरी ती क्यासिनोमा न छापा हान्न चाहन्छ, न जुवा खेल्नेलाई पक्राउ गर्न नै चाहन्छ। क्यासिनोमा भारतीयसँगै नेपालीलाई समेत मिलोमतोमा छिराउने गरिएको चर्चा छ। प्रायः क्यासिनोहरूमा पूर्व प्रहरीहरू जागिरे रहेका छन्। प्रहरी, प्रशासनमा सेटिङ मिलाउन सजिलो होस् भनेर क्यासिनोमा पूर्व प्रहरी अधिकृतहरूलाई राख्ने गरिएको पाइएको छ।

नेपालगन्जमा तारे होटल पिच्छे ‘क्यासिनो’ खुलेका छन्। होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कल्पत्रुमा एसएन ब्लु, ड्रिमल्यान्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी गेमिङ सञ्चालनमा छन्। पछिल्लो एक दशकमा भारतीयलाई लक्षित गरेर यहाँ आधा दर्जन बढी क्यासिनो खुलिसकेका छन्। थप होटलमा क्यासिनो सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ। क्यासिनो खुलेपछि नेपालगन्जका होटलहरूमा चहलपहल बढेको छ। तर नेपालीसमेत प्रवेश गराएर उनीहरूको उठिबास हुने अवस्था देखापरेको छ। क्यासिनो रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन्। अहिले बाँके प्रहरी नथपाएझैँ गरी चुपचाप बसेपछि क्यासिनो सञ्चालकले पनि निर्वाध रूपमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेका छन् भने खेल्ने नेपालीहरू पनि मस्तसँग खेलीरहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले अहिलेसम्म कुनै क्यासिनोमा पनि छापा हानेको छैन। निर्वाध रूपमा क्यासिनोले नेपाली प्रवेश गराइरहँदापनि बाँके प्रहरी टुलुटुलु हेरिरहेको छ।

नेपालगन्जका क्यासिनोका २५ प्रतिशत ग्राहक त नेपाली नै हुन्छन्। आउँछन्, मज्जाले जुवा खेल्छन् अनि जान्छन्। तीमध्ये होटल स्नेहभित्र रहेको वेलिज क्यासिनो र होटल सिद्धार्थ भ्यूमा रहेको ज्याकपोट गेमिङ क्यासिनोमा बढी नेपाली जुवा खेलीरहेका छन्। क्यासिनोमा जुवा खेल्न जाने कतिपय नेपालीले त क्यासिनो जानलाई भारतीय आधार कार्डसमेत बनाएका छन्।

स्थानीय स्रोतका अनुसार, भारतसँग सिमाना जोडिएको क्षेत्र भएका कारण ती क्यासिनोहरूमा भारतीय पर्यटकसँगै नेपालीहरू पनि सहजै प्रवेश गरिरहेका छन्। रातको समयमा विशेषगरी युवा पुस्ता क्यासिनोमा आकर्षित भई जुवातास खेलिरहेको देखिन्छ, जुन सामाजिक र आर्थिक दृष्टिले चिन्ताको विषय बन्न थालेको छ। सामाजिक अभियन्ता र स्थानीय नागरिकहरूले यसप्रति चासो व्यक्त गर्दै क्यासिनो नियमनमा कडाइ गर्न माग गरेका छन्। उनीहरूले सरकारलाई यस्ता गतिविधि तुरुन्त रोक्न र नेपाली युवालाई जुवाको दलदलमा फस्नबाट जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। 

नेपाल सरकारले लामो समयदेखि नै नेपाली नागरिकहरूलाई देशभित्र सञ्चालनमा रहेका क्यासिनोहरूमा प्रवेश गर्न निषेध गरेको छ। यो नियम मुख्यतः नेपाली समाजमा जुवा र सट्टाबाजीकालागि पर्ने नकारात्मक असरहरूलाई न्यूनिकरण गर्नका लागि ल्याइएको हो।

हाल लागूमा रहेको कानुनी व्यवस्थाअनुसार, नेपालमा रहेका क्यासिनोहरू विदेशी पर्यटकहरूलाई लक्षित गरेर मात्र सञ्चालन गर्न पाइन्छ। नेपाली नागरिकहरूले क्यासिनोमा प्रवेश गर्न नपाउने यो प्रावधान ‘क्यासिनो नियमावली’ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ।यदि कुनै क्यासिनोले नेपाली नागरिकलाई प्रवेश गराएको पाइएमा सो क्यासिनोलाई जरिवाना तिराउने, सञ्चालकको अनुमतिपत्र खारेज गर्ने वा अन्य कानुनी कारबाहीसमेत गर्न सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार