काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष पुगेपछि बिहे गरिजानुपर्ने बताएका छन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले २० वर्षपछि विवाह गर्ने कानुनी प्रबन्ध सरकारले गरेकाले सन्तान जन्मानउने कुरामा ढिलाइ गर्न नहुने बताए । ‘कानुन व्यवस्था अनुसार समय (२० वर्ष पुगेपछि )मा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्नुस्’, उनले भने, ‘४० कटेपछि रमाउँला भन्ने गीतमा नअल्मिनुस् ।’
सन्तानले डाँडाकाँडा ढाकुन् नभन भनेर जनचेतना फैल्याउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति आएकोतर्फ चिन्ता जनाए । ‘विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्छ’, उनले भने ।
विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह उनले आग्रह गरे ।
विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने उनले बताए ।
‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ’, ओलीले भने, ‘सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड । जनसङ्ख्याबारे गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन ।’