रामेछाप – रामेछाप पूर्ण खाेप सुनिश्चित भएकाे जिल्ला घोषणा भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले हिजो रामेछापलाई पूर्ण खोप दिगोपना सुनिश्चितता गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री थापामगरले सबै खोप सेवा र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने गरी आवश्यक बजेटको विनियोजन गरेको र स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका आठ वटै पालिकाका ६४ वटै वडामा रहेका १६ वर्षदेखि २३ वर्ष उमेर समूहका बालबालिकाहरूलाई आवश्यक पर्ने सबै किसिमको खोप लगाउने काम सकेको छ ।
त्यस्तै बालकालिकाहरूलाई जन्मेको १५ महिनाभित्र लगाइसक्नुपर्ने सबै खोप लगाइसकेर विभिन्न ८८ वटा सूचक पार गरेसँगै रामेछाप जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले पूर्ण खोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने गरी निर्णय गरेको थियो ।